Logo

एउटा असफल आत्महत्या



दीपेश केसीः उनी जन्मदा नै रोगी थिए । अकस्मात् आइपरेको वियोगले मानसिक पीडा थपियो । चार वर्ष हुँदा बाबुको निधन भयो । नौ वर्षको हुँदा आमाले देह त्याग गरिन् । सुखका दिन सायदै आए । आफन्तले अपहेलना गर्थे । असह्य भएपछि मामावली हजुरबाबुको घर छाडेर निस्के । वचन वाणबाट बच्न निस्केका उनी शहरका गल्लीहरूको समस्याले प्रताडित भए । कहिले जूठो भाँडा माझेर जीवन गुजार्थे त कहिले जुत्ता पसलमा काम गर्थे । कहिले बेकरीमा श्रम गरे । पढ्नेलेख्ने रहर पूरा गर्न स्वअध्ययन गर्थे । अरूले कापीकलम बोकेर हिडेको देख्दा फर्की फर्की हेर्थे । खपिनसक्नुको दुःखले आत्महत्याको बाटो रोज्न खोजे । मृत्युले समेत पत्याएन । जीवनमा पीडाको भारी बोक्न नसकेर मृत्यु रोज्न खोज्दा पनि असफल भएका तिनै व्यक्ति पछि महान् साहित्यकार मेक्सिम गोर्कीका नामले उदाए ।

मेक्सिम गोर्कीको जन्म २८ मार्च सन् १८६८ मा रूसको निज्नी नोभगोरोड शहरमा भएको थियो । उनको खास नाम अलेक्सी माक्सीमोभिच पेस्कोभ थियो । मेक्सिम गोर्की साहित्यिक लेखनका सिलसिलामा गोष्ट नेम हो । पछि सोही नामबाट चिनिए । गोर्की चार वर्षको हुँदा कोलेराबाट बाबुको निधन भयो । आमाले माइतीमा लगी उनको पालनपोषण गरिन् । सानैबेलाबाट गोर्कीले निकै पीडा भोगे । मामाघरमा दुःखद जीवन बिताउनुप¥यो । हजुरबाबुले खूबै पिट्थे ।

नौ वर्षको हुँदा आमाको निधन भयो । टुहुरा गोर्की मामाघरमा अपहेलित हुनथाले । हजुरबाबुले आफ्नो व्यवस्था आफै गर् भनेर घर छाड्न वाध्य पारे । आफन्तले लत्याएपछि गोर्की विचलित भएर घर छाडे । आफूलाई संसारको दुःखी ठानेर भौतारिन थाले । उचित शिक्षा दिक्षा पाएनन् । १५ वर्षसम्म थिती न ठेगान सँग रूसका शहरहरूमा भौतारिए । कहिले जुत्ता पसलमा काम गरे त कहिले भाँडा माझेर पेट पाले । कहिले बेकरीमा श्रम गरे ।

मामावली खलक कसिरिन्ससँगको बसाईंका क्रममा मात्र गोर्कीले औपचारिक शिक्षा प्राप्त गरे । गरिबी, भोक र रोगले औपचारिक शिक्षामा पूर्णविराम लाग्यो । तापनि अनौपचारिक शिक्षालाई निरन्तरता दिए । पढ्ने र लेख्ने काम गरिरहे । पीडा असह्य भयो । संसारप्रति घृणाभाव जाग्न थाल्यो । निकै संघर्ष गर्दा पनि सुखका दिन आउने छाँटकाँट आएन । पीडा थेग्नै नसक्ने अवस्थामा पुगे । १९ वर्ष पुग्दा आत्महत्याको प्रयास गरे । छातिमा ताकेर आफैमाथि गोली हाने । गोलीले मुटु छोएन तर फोक्सो छेड्यो । गोर्की भाग्यले बाँच्न सफल भए । आत्महत्याबाट बच्नुले गोर्कीको जीवनमा नयाँ मोड ल्यायो । उपचारपछि अस्पतालबाट फर्कने बखत उनले समाजबाट नभाग्ने दृढता विकास गरे । समाजको विद्यमान अवस्थाप्रति विद्रोह गर्ने सोच बनाए ।

गोर्की २० वर्ष पुग्दा माक्र्सवादी समूहमा आवद्ध भए । राजनीतिक गतिविधिका सिलसिलामा पक्राऊ परे । रिहाईपछि उनीमाथि प्रहरी निगरानी बढ्यो । गोर्कीले अनुभव र समाजप्रति दृष्टिकोणलाई शब्दमा उतार्थे । सन् १८९२ मा कमर चुड्रा नामको पहिलो छोटो कथा प्रकाशित भयो । वास्तविक नामबाट नभई उपनाम मेक्सिम गोर्की कथाकारका रूपमा उल्लेख थियो । अर्कोवर्ष चेलकास कथा छापियो । गोर्की साहित्यिक वृत्तमा सक्रिय हुँदै गए । लियो टोलस्टोय र एन्टोन चेकोभसँग नजिकिए ।

सन् १८९८ मा छोटो कथाहरूको संग्रहले उच्चतम सफलता हासिल ग¥यो । उनका पात्रहरू अति साधारण हुन्थे । कुलिन र संभ्रान्तहरूभन्दा सामान्य मान्छेहरूका कथाहरू लेख्थे । दुःखी र पीडाका आवाजलाई साहित्यिक शब्दमा उतार्थे । भावना र संघर्षका कथाहरू लेखे । सर्वहाराको कष्टप्रद जीवन भोगेका गोर्कीले तिनीहरूका कथा व्यथालाई हृदयमा उर्लेको आँसुको भेलले लेखे । गोर्की नाटकको रङ्गमञ्चमा पनि उत्तिकै सफल भए । परिवर्तनलाई प्रोत्साहित हुनेगरी नाटक लेखे । सारा यूरोपभर नाटक चर्चामा पुग्यो ।

सन् १८९९ मा माक्र्सवादी साहित्यिक पत्रिका जीज्न अर्थात जीवनमा सम्पादक भए । साहित्यमा नाम र दाम कमाए । रूस बाहिर पनि उनलाई सुन्न चाहनेहरू बढे । यूरोप र अमेरिकासम्मको यात्रा गरे । त्यहाँ बोल्सेभिक अभियानका लागि रकम संकलन गरे । संयुक्त राज्य अमेरिका उनीबाट खुशी थिएन । अमेरिकी पूँजीवादविरूद्ध लेखेकाले कालो सूचीमा परिसकेका थिए । अमेरिका छँदै म्याट अर्थात् दी मदर उपन्यास लेखे । सन् १९०६ मा प्रकाशित आमा उपन्यास संसारकै लोकप्रीय उपन्यासमध्येमा पर्छ । जसमा एउटी आमाले भोगेको पीडाहरू संग्रहित छ ।

सन् १९०७ मा यूरोप फर्किएपनि गोर्की रूस फर्किएनन् । उनी जार शासकसँग असन्तुष्ट थिए । सन् १९१३ सम्म रूस बाहिर बसेर क्रान्तिकारीहरूलाई सघाइरहे । लेनिन र ट्रोटस्कीलाई आश्रय दिए । क्रान्तिलाई सघाऊ पु¥याउन आम्दानी समेत दा नगर्थे । बोल्सेभिक पार्टीसँग आवद्धहरूलाई तालिम दिने भूमिका निभाए । सन् १९१३ मा जारले लेखकहरूलाई क्षमादान दिने घोषणा गरेपछि गोर्की रूस फर्किए । क्रान्तिलाई सम्भव बनाउन सक्रिय रहे । क्रान्तिको पक्षमा लेख्ने र प्रोपोगाण्डा मच्चाउने भूमिका महत्वपूर्ण रह्यो । क्रान्ति सफल भए । त्यसपछि समाजवादको अभियानमा निरन्तर लागिरहे । १९१७ मा नोभया जीज्न अर्थात् नयाँ जीवन नामक पत्रिका प्रकाशनमा सक्रिय भए । पत्रिकाले समाजवादको पक्षमा प्रोपोगान्डा मच्चाउन भूमिका खेल्थ्यो । बोल्सेभिक क्रान्तिमा लागेकाहरू मध्ये कतिपय नेताप्रति गोर्की असन्तुष्ट हुँदै गए । लेनिनको गतिविधिप्रति कटाक्ष पोख्दै कम्युनिष्ट हिष्टेरिया शब्दले आलोचना गरे । लेनिन स्वयंलाई पागल रसायनशास्त्री सम्मको उपनाम दिए । लेनिन र ट्रोटोस्कीको ध्यान गोर्कीको समाजवादप्रतिको मध्य धारप्रति गयो । गोर्कीको कडा आलोचनाले बोल्सेभिक संस्थापन पक्षले समस्या ठानेपछि बोल्सेभिक सरकारले नयाँ जीवन पत्रिका बन्द गर्ने निर्णय ग¥यो । १९२० मा गोर्कीले लेनिनको प्रशंशा गर्न थाले । तर बोल्सेभिक दलका धेरै नेताहरूले उनीप्रति अविश्वास देखाइसकेका थिए । गोर्कीको जीवन संकटमा प¥यो । लेनिनले उपचारका नाममा १९२१ मा गोर्कीलाई रूसबाट बाहिर पठाउने योजना बुने । तदनुरूप इटाली पठाइए । इटालीको सोरेन्टोमा १९२८ सम्म बसे ।

लेनिन र पछि स्टालिनसँग गोर्कीको घनिष्ठ सम्बन्ध थियो । शासकसँगको निकट सम्बन्ध र समृद्ध साहित्यको योगदानले गोर्कीको रूसी संस्कृति र साहित्यिक क्षेत्रमा बलियो प्रभाव थियो । विश्व साहित्यका महत्वपूर्ण ग्रन्थको सम्पादन र रूसी भाषामा प्रकाशनमा भूमिका खेले । साहित्यिक कृतिलाई राजनीतिक पूर्वाग्रहको तारो नबनाउने जोड दिन्थे । १९२३ मा रूसका पुस्तकालयबाट प्रतिक्रान्तिका दस्तावेजको आरोप लगाएर पश्चिमा साहित्यकारहरूद्वारा लिखित कृति हटाउन खोज्दा विरोध जनाए । रूसी संग्राहालय र कला क्षेत्रको सुधार र विकासमा विशेष योगदान गरे ।

स्टालिनले बोलाएपछि गोर्की १९३२ मा रूस फर्किए । उनको पहिलो कृति प्रकाशनको ४० वर्षगाँठको अवसर पारेर फर्किएका थिए । त्यसपछि उनलाई धेरै सम्मान दिइयो । उनका नाममा पुस्तकालय र संग्राहालय संचालन गरियो । स्टालिनले व्यक्तिगत स्वार्थले गोर्कीलाई बोलाएको तब थाहा भयो जब उनले आफ्नो हितमा लेख्न आग्रह गरे । जसरी लेनिनका लागि गोर्कीले लेखे त्यसरी स्टालिनका लागि लेख्न अस्वीकार गरे । त्यसपछि स्टालिन असन्तुष्ट भए । गोर्कीमाथि विश्वास गर्न छाडे । सन् १९३५ मा स्वास्थ्योपचारका लागि इटाली जान खोज्दा रोके । गोर्कीको स्वतन्त्रतामाथि बन्देज लाग्यो । १८ जुन १९३६ मा मस्को नजिकै गोर्की भन्ने स्थानमा निधन भयो । उनको निधनबारे शंकाउपशंका भए । कतिपयले स्टालिनको षड्यन्त्रको तारो बनेको हल्ला गरे । एउटा महान साहित्यकारको अन्तिम श्रद्धाञ्जलीमा स्टालिन, भेचेस्लेभ मोलोटोभ र निकिता ख्रुश्चेव जस्ता हस्ती नेताहरू सहभागी भए ।
केसीको प्रकोशोन्मुख कृति विश्व चर्चित व्यक्तित्वहरुबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot