Logo

भुटानसँग सीमासम्बन्धी समझदारी गरेर चीनले भारतलाई झड्का दिएको हो ?



एजेन्सी, ३० असोज । चीन र भुटानबीच सीमा समस्या समाधान गर्न समझदारीपत्रमा हस्ताक्षर हुनुलाई भारतलाई झड्का परेको सन्देश चिनियाँ मिडियाले दिन थालेका छन् । तीन तहको रोडम्यापमा सीमा समस्या समाधान गर्नेबारे हस्ताक्षर भएपछि चीनले भारतलाई नराम्रो झड्का दिएको सन्देश दिन थालेको हो ।

चिनियाँ विदेश मामलासम्बन्धी धारणा आउने गरेको ग्लोबल टाइम्सले सम्पादकीयमार्फत् ‘भारतको हस्तक्षेपविना नै समझदारी भएको’ उल्लेख गरेको छ । उसले भारतले आफ्ना छिमेकीलाई चीनसँग सम्बन्ध सुधार्नबाट रोक्न खोजेको आरोप लगाउँदै पछिल्लो समझदारी ‘भारतको हस्तक्षेपबाट मुक्त’ भएको टिप्पणी समेत गरेको छ ।

भुटानले चीनसँग दौत्य सम्बन्ध स्थापना गरेको छैन । भुटानमा भारतको बलियो प्रभाव छ । उसको विदेश मामलामा भारतको भूमिका बढी हुने गरेको चर्चा चल्ने गरेको छ ।

भुटानले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको कुनैपनि पाँच सदस्यराष्ट्रसँग दौत्य सम्बन्ध स्थापना गरेको छैन । अमेरिका, रुस, चीन, फ्रान्स र बेलायत जस्ता विश्वका शक्तिशाली पाँच देशसँग उसको दौत्य सम्बन्ध नरहेको हो । यसलाई ग्लोबल टाइम्सले असामान्य परिस्थित भन्दै भारतमाथि दोष लगाएको छ । भारतले लामो समययता भुटानमाथि प्रभाव बनाइआएको उल्लेख गरेको छ ।

चीनले भुटानसँग सीमा समस्या समाधान गर्न चाहेको तर भारत समस्या बनेको ग्लोबल टाइम्सले लेखेको छ । चीन र भुटानबीचको समझदारीपत्रलाई भारतको विदेश मन्त्रालयले नोटमा राखेको मात्र भनेको छ ।

ग्लोबल टाइम्सले भारतमाथि गम्भीर आरोप लगाउँदै नेपालमाथि पनि असामान्य प्रभाव जमाउन खोजेको टिप्पणी गरेको छ । दक्षिण एशियाली देशहरुले चीनसँग सम्बन्ध विकास गर्न खोज्दा भारतले साँघुरो सोचको भूराजनीतिक चिन्तन बनाएको आरोप लगाएको छ । भारतमाथि प्रभाव विस्तार गर्न खोजेको आरोप समेत लगाएको छ ।



प्रतिक्रिया दिनुहोस्