Logo

धामीझाँक्रीको कुसंस्कारका कारण बोक्सीका नाममा जघन्य हत्या



काठमाडौं, १ कात्तिक  । महोत्तरीका एस्पी दिनेश आचार्यले समाजमा धामीझाँक्री लगायत कुसंस्कार जीवित रहेकाले बोक्सीका नाममा हत्या गर्ने, मलमूत्र खुवाएर चारपाटे मुढ्ने आदि आपराधिक घटना भइरहेको बताएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै एस्पी आचार्यले भने, “जनकपुर बस्ने सञ्जीवकुमार झाले आफ्नी श्रीमती बिरामी भई बच्चा तुहिएपछि धामी झाँक्री लगाएको र धामीले भाउजू शिलादेवीलाई दोष लगाएपछि असोज २८ गते बिहान तीन बजेतिर हत्या गरेको देखियो ।

सञ्जीवलाई पक्राउ गरेर बयान लिने काम भइरहेको छ ।” एस्पी आचार्यले यस्ता घटनामा शिक्षाको अभाव प्रमुख रहेको बताए । उनले भने, “शिक्षाको अभाव भएपछि समाजमा अन्धविश्वास बढ्छ ।

महिलाप्रति हाम्रो सामाजिक सोचमै कमीकमजोरी छन् । सामाजिक र धार्मिक अगुवाहरुले पनि त्यसलाई अनुमोदन गर्छन् । धामीझाँक्रीमा आँखा चिम्लेर विश्वास गर्ने चलनले गर्दा यस्ता जघन्य अपराध हुन्छन् ।” उनले कोभिडका कारण लामो समयदेखि रोकिएको प्रहरीको जनचेतना कार्यक्रम छिटै सञ्चालन गरिने जानकारी पनि दिए ।



प्रतिक्रिया दिनुहोस्