Logo

माघको पहिलो या दोस्रो हप्ताभित्र महाधिवेशन सम्पन्न हुने गरी नयाँ तालिका आउँछः विश्वकर्मा



काठमाडौं, कात्तिक २ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले माघको पहिलो या दोस्रो हप्ताभित्र पार्टीको चौधौं महाधिवेशन सम्पन्न हुने गरी नयाँ तालिका बनाउनुपर्ने बताएका छन् ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता विश्वकर्माले भने, “पहिले कोभिड-१९ का कारण महाधिवेशन रोकियो, पछि क्रियाशील सदस्यताको विवादले रोकियो । त्यसैले अब नयाँ तालिका बनाउने बारे नेताहरुबीच अनौपचारिक छलफल भइरहेको छ । दसैं लगत्तै पदाधिकारी तहमा बैठक हुन्छ, पदाधिकारीले प्रस्ताव तयार गर्छन् र तिहार अगाडि बस्ने केन्द्रीय कार्यसमितिको बैठकले त्यसलाई अनुमोदन गर्छ ।”

नेता विश्वकर्माले अब मंसिर ९ मा कुनै पनि हालतमा महाधिवेशन हुन नसक्ने ठोकुवा गरे । उनले थपे, “अहिले आम नेता कार्यकर्ता साथीहरुमा अन्योल छ । कतै वडाको अधिवेशन भएको छैन, कतै महाधिवेशनको मिति आइसक्यो । दसैं अगाडि गर्ने भनिएका पालिका र जिल्ला तहको अधिवेशन विविध कारणवश हुन सकेनन् । कात्तिकभित्र पालिकाको अधिवेशन गरी मंसिरभित्र सबै प्रदेशको अधिवेशन गर्ने अनि माघको पहिलो या दोस्रो हप्ताभित्र राष्ट्रिय महाधिवेशन हुने गरी अर्जुनदृष्टि लगाउनुपर्छ भन्ने मेरो सुझाव छ । सरकार सञ्चालन र तीनै तहको आवधिक निर्वाचनका लागि पनि महाधिवेशन समयमै हुनुपर्छ ।”

पार्टीभित्रको रामचन्द्र पौडेल समूहले एकातिर महाधिवेशन सुचारु हुन नदिने अनि अर्कातिर समयमै किन गरिनस् भन्ने द्वैध चरित्र देखाइरहेको आरोप पनि उनले लगाए । उनले थपे, “महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न चाहनेले प्रतिस्पर्धीको कमजोरी केलाउनु स्वाभाविकै पनि होला । तर महाधिवेशनको समग्र प्रक्रियामा उहाँहरु आफै संलग्न हुनुहुन्छ । ढिलो हुनुको कारण उहाँहरु आफैं पनि हो । एकातिर प्रक्रिया रोक्ने, अर्कातिर ढिलो भएको बुझ्दाबुझ्दै किन गरिनस् भन्ने कस्तो प्रवृत्ति हो ? एकले अर्कालाई दोषारोपण गर्नुभन्दा पनि सबैलाई समेटेर लैजानुपर्छ । अब कारण देखाउने होइन, कामै गर्नुपर्छ ।”

वडा अधिवेशनमा शेरबहादुर देउवा पक्ष कमजोर भएकाले महाधिवेशन सार्न खोजेको आरोप मात्र भएको उनको दाबी छ । उनले भने, “अधिवेशनबाट प्रशस्त युवाहरु आउनुभएको छ । को कसको पक्षमा छन् भन्ने आआफ्नो अनुमान छ । आकाशमा लागेको घामले आफैंतिर हेरेको अनुमान सबैलाई हुन्छ । कोही उत्साहित हुनुपर्ने या कोही निराश हुनुपर्ने स्थिति छैन ।”

चैत-वैशाखमा कुन तहको चुनाव गर्ने हो, तीन तहको निर्वाचन एकैचाटि गर्ने हो कि भन्नेबारे दलहरुबीच छलफल चलिरहेको पनि उनले बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यकता अनुसार विदेश भ्रमण गर्ने पनि उनले बताए । उनले भने, “विदेश भ्रमण भनेको दैनिक कार्यसूची होइन, कुन बेला कुन मुलुकको निमन्त्रणा आउँछ, कहाँ अनिवार्य पर्छ, त्यसअनुसार भ्रमण गर्ने हो । अहिले बेलायतसँग काम परेको छ, भारत र चीन हाम्रा असल छिमेकी मित्र हुन् । देउवा जुनसुकै बेला जान सक्नुहुन्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot