Logo

देउवालाई सरकारको मधुमास कालपछिका चुनौती



समाचार विश्लेषण, २ कात्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा व्यक्तिगत चाहनाले भन्दा भाग्य र दबाबले पाचौं पटक प्रधानमन्त्री बनेका थिए । २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाको कार्यकालको १०० दिन भोलि पूरा हुँदैछ । भोलिबाट उनको हनिमुन पिरियड अर्थात् मधुमासकाल सकिदैछ ।

८ असारमा सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको कदमलाई असंवैधानिक ठहर गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । ओलीको कदमबाट बहुमतप्राप्त कम्युनिस्ट पार्टी फुटेसँगै देउवाको भाग्योदय भएको थियो ।

वास्तवमा देउवा प्रधानमन्त्री भन्दा पनि देश चुनावमा जाओस् भन्ने चाहन्थे । उनले सार्वजनिक रुपमै चुनावको चाहना व्यक्त गर्दै कार्यकर्तालाई तयार रहन समेत भनेका थिए । तर, समयले फरक परिस्थिति निर्माण गरिदियो । देउवा प्रधानमन्त्री बने ।

देउवा प्रधानमन्त्री बन्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, तत्कालीन नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र अर्का नेता डा. बाबुराम भट्टराईको मुख्य साथ पाएका थिए । प्रचण्ड र माधव नेपालले देउवालाई प्रधानमन्त्रीका लागि बारम्बार आग्रह गरेकै हुन् ।

सरकार सञ्चालनको ९९ दिन पूरा हुँदा देउवालाई मन्त्रिपरिषद पूर्णता दिन लामो समय लाग्यो । झण्डै मधुमासको समय सकिन लाग्दा मन्त्रिपरिषदले बल्ल पूर्णता पायो । तर, त्यो विवादमुक्त बन्न सकेन ।

नेपाली काँग्रेसभित्र मन्त्रिहरु बनाउँदा विवाद देखियो । गठबन्धनका अन्य दलहरुमा पनि असन्तुष्टिका स्वर सुनिए ।

देउवाको मधुमास अवधिभित्र विवादास्पद विधयेकहरु ल्याइए । राजनीतिक दल विभाजनका लागि सहज परिस्थिति बनाउन ल्याइएको अध्यादेशले नेकपा एमाले र जसपा फुट्यो । यो विभाजनले देउवालाई तत्कालका लागि लाभ मिलेपनि नेपालको राजनीतिमा यस्तो नजिर बसेको छ जस्ले कुनैपनि दल फुटाउन कुनैपनि बेला अध्यादेश आउन सक्छ । फुटको राजनीतिलाई प्रश्रय दिने अध्यादेश विगतमा ओली सरकारले पनि ल्याएको थियो । त्यतिबेला प्रमुख प्रतिपक्षी दलका नेता देउवाले विरोध गरेका थिए । तर, उनै देउवा प्रधानमन्त्री हुँदा अध्यादेश आयो ।

देउवाले ओलीको कार्यकालमा भएका कतिपय नियुक्तिहरु खारेज गरे । गठन भएका आयोग नै खारेज गरे । यसलाई कतिपयले ओलीको सेटिङ भत्काउने कदमका रुपमा लिए । राजनीतिक नियुक्ति पाएका राजदूतहरु फिर्ता बोलाइए । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक फेरिए । भूमीसम्बन्धी आयोग खारेज गरियो । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव बर्खास्त गरिए । सचिवहरुको व्यापक सरुवा भयो । सहसचिव देखि प्रमुख जिल्ला अधिकारीहरुको सरुवा भयो ।

देउवा सरकारको मधुमासकालमा चीनसँगको सीमा समस्याको विषय उठ्यो । सरकारले नै चासो लिएर अध्ययनको कमिटी नै बनाएर हुम्ला जिल्लामा टोली खटाएर प्रतिवेदन बुझाएको छ । यो सार्वजनिक भएको छैन । दार्चुलामा तुइन चुँडिएर नेपाली नागरिक वेपत्ता भएको घटना चर्चामा आयो । छानविन टोलीले भारतको सीमा सुरक्षा बल घटना हुँदा उपस्थित रहेको प्रतिवेदन सार्वजनिक गर्यो ।

अमेरिकी सायोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको मुद्दा फेरि उठ्यो । एमसीसी उपाध्यक्ष फतिमा सुमार नेपाल भ्रमणमा आइन् । उनले प्रधानमन्त्री देउवालगायत मुख्य राजनीतिक दलका नेताहरुलाई भेटेर एमसीसी संसदबाट पारित गर्न आग्रह गरिन् । तर, एमसीसीको विषयमा सत्ता गठबन्धनका दलहरुबीच विवाद देखियो ।

देउवा सरकारको मधुमास कालभित्र नेपाली काँग्रेसको महाधिवेशनको नयाँ मिति तोकियो । अधिकांश जिल्लाका वडा र नगर तहका अधिवेशनहरु सम्पन्न भएका छन् । को कति बलियो भन्ने एक प्रकारको तस्बिर आएको छ ।

संवैधानिक निकायमा भएका नियुक्तिहरु असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ । यस मुद्दामाथि मुद्दा हालिएको छ । अख्तियार, निर्वाचन आयोग, लोक सेवा आयोगलगायत महत्वपूर्ण निकायमा भएका नियुक्तिहरु मन्त्रिपरिषद या सरकारी तहबाट खारेज गर्न मिल्दैन । यो अदालतमा विचाराधीन विषय भएकाले चासो बढेको छ । यी निकायमा नियुक्ति हुँदा ओलीले उल्लेख्य संख्यामा आफ्ना मान्छे राखेको विषय चल्दै आएको छ ।

देउवाको सय दिन पूरा हुन लाग्दा अबको समय पार्टी भित्र र बाहिरबाट उनीसामु चुनौतीको पहाड तेर्सिएको छ । बाह्य सम्बन्धमा सन्तुलन कायम गर्नुपर्ने चुनौती सजिलो छैन । सत्ता गठबन्धनको व्यवस्थापन उत्तिकै चुनौतीपूर्ण छ ।

नेपाली काँग्रेसको महाधिवेशन तोकिएको मितिमा हुनेमा आशंका छ । अर्ली इलेक्शन नभएमा महाधिवेशन २०७८ सालभित्र हुने निश्चितप्रायः छ । देउवा सत्तामा रहेकाले उनी नै फेरि सभापति हुने सम्भावना बलियो छ । तर, उनका विरोधी समूह एकजुट भएमा देउवाले महाधिवेशनमा धक्का खान सक्छन् । विमलेन्द्र निधिले साथ छाडेका छन् । प्रकाशमान सिंह, कोइराला परिवारका तीन हस्ती डा. सशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइराला देउवाविरुद्ध नै छन् । रामचन्द्र पौडेल पनि देउवाविरुद्ध चुनाव लड्ने तयारीमा छन् । काँग्रेसभित्रका हेभिवेटहरु देउवाइतर समूहमा रहेको र उनीहरु विभाजित भएमा मात्र देउवालाई फाइदा छ । अन्यथा चुनावी अंकगणित देउवाले सोचेभन्दा विपरित हुनसक्छ ।

सत्ता गठबन्धनका नेतामध्ये प्रचण्ड रणनीतिक रुपमा चतुर छन् । माधवकुमार नेपालको व्यवस्थापकीय क्षमता छ । बाबुराम भट्टराई रणनीतिक रुपमा उत्तिकै चतुर छन् । उपेन्द्र यादवको आफ्नै असन्तुष्टि छ । यी सबै नेता वैचारिक रुपमा देउवाभन्दा फरक धारका हुन् । यसकारण पनि देउवालाई गठबन्धनभित्र सजिलो छैन ।

देउवाको अर्ली इलेक्शनको चाहना विभिन्न शैलीमा अभिव्यक्त भइरहेका छन् । तर, सत्ता गठबन्धनभित्र उनलाई अर्ली इलेक्शनमा जान नदिने रणनीति देखिन्छ । मंसिरमै आवधिक चुनाव हुने गरी प्रचण्ड र माधव नेपालको तयारी छ । उनीहरु शक्ति सञ्चय गर्दै बढिरहेका छन् । जति ढिलो चुनाव हुन्छ देउवालाई पार्टी भित्र र बाहिरबाट उत्तिनै घाटा बढ्ने देखिन्छ । तर, उनी चाँडो चुनावमा लगिहाल्न सक्लान् कि नसक्लान् ? चासोको विषय छ । बहुमत रहँदा रहँदै देशलाई चुनावमा लान संविधानले दिदैन । विगतमा ओली फेसेजस्तै देउवा फस्ने सम्भावना हुन्छ । बहुमत गुमाएमा मात्र देउवाले अर्ली इलेक्शनमा जाने अवस्था बन्न सक्छ ।

विदेश सम्बन्धमा छिमेकीहरुसँगको व्यवहार महत्वपूर्ण हुन्छ । देउवाले चीनलाई चिढ्याएको विषय उठ्न थालेको छ । सीमा समस्या अध्ययन गर्न कमिटी नै गठन गरिदिए । यसबाट चीन चिढिएको छ । भारतसँग सम्बन्ध सुधार्न देउवाले प्रयास थालेका छन् । तर, भारत उनीप्रति त्यति धेरै विश्वस्त देखिदैन ।

देउवाले प्रचण्डले जस्तै विदेश भ्रमणमा पहिलो गन्तव्य मुलुक फेरेर परम्परा तोड्न खोजेका छन् । प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा सुरुमा चीन गए । उनी ओलम्पिक समापनमा सहभागी हुने भन्दै गएका थिए । त्यसैगरी, देउवा पनि बेलायत जाने भएका छन् । स्कटल्यान्डमा हुने सम्मेलनमा सहभागी हुन देउवा यसै महिना जाने तय भइसकेको छ । उनको प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण हुने देश बेलायत भएको छ जहाँ उनले विगतमा अध्ययन पनि गरेका थिए । यसबाट देउवाले विदेश सम्बन्धको प्राथमिकतासम्बन्धी सन्देश दिन खोजेका छन् ।

देउवामाथि बढी पश्चिमाहरुसँग निकटता राख्ने गरेको चर्चा चल्ने गरेको छ । यसलाई उनले व्यवहारले पुष्टि गर्न थालेका छन् । विश्वमा बदलिंदो शक्ति सन्तुलन र दक्षिण एशियामा बाह्य प्रभावको प्रतिष्पर्धाको परिस्थितिले पनि देउवालाई अबका दिन निकै चुनौतीपूर्ण छ । उनका विरोधीहरु देउवाको विगत इतिहासबाट उत्साही छन् । देउवा भाग्यले सत्तामा पुग्ने र दुर्भाग्यले सत्ताबाट हट्ने परिस्थिति बन्दै आएको छ । फेरि त्यो इतिहास दोहोरिनेमा उनका विरोधीहरु ढुक्क छन् । इतिहासको पुनरावृत्तिलाई बदल्ने चुनौती देउवासामु छ ।



प्रतिक्रिया दिनुहोस्