Logo

पानीको बहाव घटेकाले आत्तिनुपर्ने अवस्था छैनः प्रजिअ दाहाल, मोरङ



काठमाडौं, कात्तिक ३ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मोरङमा कृषि क्षेत्रमा प्रशस्त भौतिक क्षति भए पनि मानवीय क्षति हुन नपाएको बताएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रजिअ दाहालले भने, “लगातारको वर्षाले मोरङ जिल्ला पनि प्रभावित भएको छ । विराटनगर महानगरपालिकाका दक्षिणी भेगमा बाढीले असर गरेको छ । खासगरी सिंगिया खोलाका कारण डुबानमा परेका वडा नं १ मा १५ जनाको नेपाली सेनासँग समन्वयमा उद्धार गरिएको छ । प्रहरी चौकी नै डुबानमा परेको छ । आज बिहान मात्र छतमा बसेका नागरिकको उद्धार गरेका छौं ।”

बादल लागे पनि नदीमा पानीको बहाव घटेकाले आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए । उनले भने, “नेपालमै जलवायु परिवर्तनका कारण बेमौसमी झरी परेको हो । अहिले बादल लागे पनि पानीको बहाव घटेको छ । आवश्यक ठाउँमा हेलिकप्टरबाट भए पनि उद्धार गर्ने प्रबन्ध मिलाइएको छ । आत्तिनुपर्ने अवस्था छैन ।”



प्रतिक्रिया दिनुहोस्