Logo

मन्त्री नै फिल्डमा खटिएका छौं, मानवीय क्षति रोक्न प्रयत्नशील छौंः मुख्यमन्त्री भट्ट



काठमाडौं, कात्तिक ३ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार मानवीय क्षति रोक्न प्रयत्नशील रहेको बताएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री भट्टले भने, “दुई-तीन दिनको लगातार भारी वर्षाले प्रदेशको जनजीवन कष्टकर भएको छ । मौसमका कारण डोटी, बझाङ, बैतडी, डडेलुधरा, बाजुरा लगायत पहाडी जिल्लामा समयमै उद्धार हुन सकेन । बझाङमा २३ जना बेपत्ता भएका सूचना आएको छ । भौतिक क्षतिको अहिले नै आकलन गर्न सकिँदैन । मानवीय क्षति रोक्नका लागि हामी प्रयत्नशील छौं । प्रदेशका मन्त्री नै फिल्डमा खेटेर काम गरिरहेका छौं ।”

मुख्यमन्त्री भट्टका अनुसार पहाडी जिल्लामा विद्युत् आपूर्ति रोकिएको छ । टेलिफोन सेवा अवरुद्ध छ । कैलाली र कञ्चनपुर कर्णाली र महाकालीको बाढीका कारण डुबानमा छन् । कर्णालीमा अहिलेसम्मकै उच्च बहाब देखिएको छ । बैतडी र डोटीको सीमामा सेती नदी थुनिँदा फसेका नागरिकको नेपाली सेनाले उद्धार गरेको छ । प्रदेश सरकार, स्थानीय तह र सुरक्षा निकायको समन्वयमा तत्काल उद्धार र व्यवस्थापनमा लागेको छ । मानवीय उद्धारमा कुनै कमी हुन दिइएको छैन ।

मुख्यमन्त्री भट्टले प्रदेश सरकारले प्रारम्भिक राहतका लागि २५ करोड छुट्याएको पनि बताए । उनले भने, “राहतका काम प्रदेश सरकारले मात्र पूरा गर्न सक्ने स्थिति छैन । यसमा तत्काल संघीय सरकारले सहयोग गर्नुपर्छ । यसबारे मैले संघीय गृहमन्त्रीसँग पनि कुरा गरेको छु । पानी रोकिनेबित्तिकै लगत लिएर राहत दिने कुरा हुन्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot