Logo

नेतृत्वले मुल्यमान्यता विपरीत काम गरेकाले पार्टी कमजोर भयो–नेता सिंह



काठमाडौं, ४ कात्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले नेतृत्वले परम्परा र मुल्यमान्यता विपरीत काम गरेकाले पार्टी कमजोर भएको बताएका छन् । विहिबार धादिङमा भएको कांग्रेस धुनिबेसि नगर समितिको कार्यालय उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले १३औं महाधिवेशन पछि पार्टीको नेतृत्वले विधिपद्धती र मुल्यमान्यता पालना गर्न नसक्दा पार्टी कमजोर भएको बताएका हुन् ।

उनले विधिसम्वत र संस्थागत रुपमा पार्टीलाई अगाडी बढाउनको लागी सक्षम नेतृत्वको आवश्यकता रहेको समेत बताए । पार्टीका सिनियर नेताहरुलाई सम्मान गर्ने तर अबसर पाउँदा पनि काम गर्न नसक्नेलाई नेतृत्व सुम्पिन नहुने उनको भनाई थियो । साथै उनले पार्टीको आसन्न १४औं महाधिबेशन कुनै पनि हालतमा तोकिएकै मितिमा हुनुपर्ने उनले धारणा राखे ।

‘महाधिबेशन कुनै पनि हालतमा तोकिएकै मितिमा गर्नु पर्दछ । क्रियाशिल सदस्यता विधि र पद्धती अनुसार वितरण हुनुपर्छ ।’ उनले भने ‘यस अघिको सहमति अनुसार नै पार्टीको अधिवेशन अगाडी बढाउनु पर्दछ । यसमा नेतृत्वले ध्यान दिन जरुरी छ ।’

अधिवेशन त समयमा नै गर्न नसकेको काँग्रेसले कसरी देश विकास गर्न सक्छ, भनेर जनताले प्रश्न गर्न सुरु गरिसकेको उनको भनाई छ । पार्टीलाई ठिक ठाँउमा ल्याउनको लागी विधि र पद्धतीको सवैले सहि ढङ्गले पालना गर्नु पर्ने उनले बताए ।

पार्टी सभापतिको गृह जिल्लामा भएको महाधिवेशन प्रहरीको घेराभित्र भएकाले पार्टीको छवि विग्रीएको उनको आरोप छ । अधिवेशन हुँदा सवैलाई पद चाहिने तर पदमा पुगी सकेको पछि काम गर्न नसक्ने परिपाटी अब सुधार गर्नु पर्ने उनको भनाई छ । राजनिती सेवाको क्षेत्र भएकाले मेवाको आस गरेर यस क्षेत्रमा लाग्न नहुने सिंहले बताए ।

गणेशमानको परिवारले सधै त्याग मात्रै गरेको भन्दै अब पार्टीको नेतृत्व पनि गर्ने उनले दाबी गरे । पार्टी भित्रको ए काँग्रेस वि काँग्रेस र सि काँग्रेस हटाउनु पर्ने उनको धारणा छ । जनताको ईच्छा र चाहाना अनुसार काम गर्नसक्ने पार्टीको रुपमा काँग्रेसकालाई पुन स्थापीत गर्न आफु लागी परेको उनले दाबी गरे ।

हरेक आन्दोलनमा आफुले संघर्ष गर्दै आएको भन्दै उनले गणेशमानको छोरा भएर मात्र राजनीतिमा नआएको बताए । राजनितीमा प्रवेश गर्न आफ्नो छुट्टै संघर्ष रहेको बताउँदै सिंहले धेरै अबरोधहरुको समाना गर्दै आएको स्मरण गराए । अरु क्षेत्रमा असफल भएर आफु राजनितीमा आएको व्यक्ति नभएको उनले स्पष्ट पारे ।अब जनताले चाहेको आर्थिक सम्पन्ताको अभियानमा पनि काँग्रेसले नै नेतृत्व गर्ने र त्यसका लागी ठिक नेताको आवश्यक रहेको उनले जिकिर गरे ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot