Logo

अष्टलक्ष्मीमाथि सत्ता लम्ब्याउन खोजेको आरोप



काठमाडौं, ४ कात्तिक । विपक्षीले विश्वासको मत लिन दबाब दिएपनि बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आज पछि हटेकी छिन् । उनले ११ कात्तिकमा मात्र विश्वासको मत लिने प्रयास गरेकी छिन् ।

विपक्षी सांसदहरुले भने मुख्यमन्त्री शाक्यमाथि सत्ता लम्ब्याउन खोजेको आरोप लगाएका छन् । उनी अल्पमतमा छिन् । विश्वासको मत लिन नसक्ने भएपछि पछि हट्न खोजेको आरोप विपक्षीको छ ।
नेकपा एमाले विभाजन भएपछि शाक्य अल्पमतमा परेकी हुन् । केन्द्रमा सत्ता गठबन्धन बनाएका दलहरु मिल्दा बहुमत पुग्छ । शाक्यलाई हटाएर राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी भइसकेको छ ।

२५ असोजमा बोलाइएको बैठकमा विश्वासको मत लिने प्रस्ताव पेश भएपनि उनले समय धकेल्दै लगेकी छिन् । ११ कात्तिकमा पुर्याएर उनले छठसम्म सत्ता पुर्याउन खोजेको बुझाई विपक्षीको छ ।

१०९ जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशमा ५५ सदस्यको साथ पाएमात्र विश्वासको मत पाउन सकिने परिस्थिति छ । एमालेसँग ४३ सांसद छन् । नेकपा माओवादी केन्द्रसँग २३, नेपाली काँग्रेससँग २२, नेकपा एससँग १३ जना सांसद छन् । यो संख्या बहुमतका लागि पर्याप्त हो ।



प्रतिक्रिया दिनुहोस्