डोटी, ४ कात्तिक : बाढी प्रभावित क्षेत्र सुदूरपश्चिमको डोटी पुगेका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले बाढी–पहिरामा ज्यान गुमाएका, घरबारविहीन भएका नागरिकलाई सरकारी निकायबाट राहतसहित आर्थिक सहयोग प्रदान गर्ने निर्णय भएको बताएका छन् । उनले भने, “बाढी–पहिरापीडित नागरिकको साथमा सरकार छ, पीडित भएका नागरिकको समस्या समाधान सरकारले गर्नेछ ।”
सोही क्रममा मन्त्री आलेले बाढी–पहिराले अवरुद्ध भएका त्यहाँका राजमार्ग तथा ग्रामीण क्षेत्रका सडक सञ्चालनका लागि सम्बन्धित मन्त्रालयमार्फत निर्देशन भइसकेकाले तत्काल काममा खटिन कर्मचारीलाई पनि आग्रह गरे ।
डोटीमा मात्रै बाढी–पहिराका कारण १४ जनाको ज्यान गइसकेको तथा एक जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिएका थिए । सोही क्रममा प्रजिअ विष्टले जिल्लामा बाढी–पहिराले १३ जना घाइते, ३५ चौपाया मृत्यु, २५ घाइते तथा २० चौपाया बेपत्ता, घरधुरी ११०, विस्थापित नागरिक ५०० तथा दुईवटा झोलुङ्गे पुलमा क्षति भएको विवरण पेश गरेका थिए ।
बाढीको क्षतिबारे दिपायलमा जानकारी लिएर उक्त टोली बझाङ चैनपुर जाने कार्यक्रम तय भएको छ । यसैगरी उक्त टोलीले बझाङमा बाढी–पहिराले गरेको क्षतिका विषयमा अनुगमन तथा निरीक्षण गरी बैतडी र डोटीको सीमा क्षेत्र ढुङ्गाड जाने कार्यक्रम रहेको र ढुङ्गाडमा भएको क्षतिका विषयमा स्थलगत निरीक्षण गरी डडेल्धुरा सदरमुकाम पुग्ने बताइएको छ ।
आजै उक्त टोली जोगबुढाबाट कञ्चनपुर पुगी सदरमुकामका साथै त्यहाँका बाढी प्रभावित क्षेत्र दोधारा–चाँदनी, वह्मदेव क्षेत्रमा बाढीले गरेको क्षतिका बारेमा निरीक्षण अनुगमन गरी कैलालीको धनगढी फर्किने कार्यक्रम तय भएको छ ।-File photo