Logo

राष्ट्रपति भण्डारीद्वारा बाढी, पहिरो र डुबानले भएको जनधनको ठूलो क्षतिप्रति गहिरो दुःख प्रकट



काठमाडौं, ४ कातिर्क । राष्ट्रपति विद्यादेवी भण्डारीले हालैको अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो र डुवानले भएको जनधनको ठूलो क्षतिप्रति गहिरो दुःख प्रकट गर्नुहुँदै शोक सन्तप्त परिवारमा सहानुभूतिसहित हार्दिक समवेदना प्रकट गरेकी छिन् ।

आज एक विज्ञप्ती जारी गर्दै राष्ट्रपति भण्डारीले विपद्को यस दुःखद् घडीमा प्रकोप पीडितहरूको उद्धार तथा व्यवस्थापन, घाइतेहरूको उपचार, राहत वितरण र वेपत्ता भएकाहरूको खोजी कार्यमा राज्यका संयन्त्रहरूलाई परिचालित गराउने कार्यमा सम्बद्ध निकायको ध्यान पुग्नेछ भन्ने विश्वास व्यक्त गरेकी छिन् । यसैगरी प्रकोपबाट कृषि क्षेत्र खासगरी धान बाली र विविध भौतिक पूर्वाधारको विनाशको सन्दर्भमा राहत, क्षतिपूर्ति र पुनर्निर्माण सम्बन्धमा समन्वयात्मक रूपमा अघि बढ्न पनि उनले आग्रह गरेकी छिन् ।

त्यस्तै, उनले प्राकृतिक प्रकोपबाट उत्पन्न दुःखको यस अवस्थामा सम्पूर्ण राजनीतिक दल, सामाजिक संघ÷संस्था र समुदायलाई आवश्यक समन्वय र सहकार्यसहित पीडितहरूको उद्धार तथा राहत कार्यमा संलग्न हुन हार्दिक आव्हान गरेकी छिन् । साथै, राष्ट्रपतिले भविष्यमा आइपर्ने यसप्रकारका प्राकृतिक प्रकोपबाट बच्न सम्बद्ध सबै पक्षले सावधानी अपनाउनुपर्ने कुरा पनि बताएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्