Logo

१० बुँदे सहमति ९५ प्रतिशत स्थानमा कार्यान्वयन भैसकेको छ : प्रवक्ता ज्ञवाली (भिडिओसहित)



काठमाडौँ, ४ कात्तिक । नेकप (एमाले) का प्रवक्ता प्रदीप ज्ञवालीले १० बुँदे सहमति ९५ प्रतिशत कार्यान्वयन भएको बताएका छन् । पार्टीको १० बुँदे प्रस्ताव कार्यान्वयनका क्रममा सहजीकरण कार्यदलको बैठक आजै सम्पन्न भएको र त्यसका संयोजक डा भीमबहादुर रावलले शुक्रबार हुने स्थायी कमिटी बैठकमा सुझाव प्रस्तुत गर्ने जनाइएको छ ।

प्रवक्ता ज्ञवालीले भने,“अधिकांश स्थानमा १० बुँदे प्रस्तावको कार्यान्वयन भएको छ, यो सिङ्गो पार्टीको प्रस्ताव हो, ९५ प्रतिशत कार्यान्वयन भइसकेको छ, समस्या भएका स्थानबारे निर्णय गर्नुपर्ने भएमा स्थायी कमिटीमा प्रस्ताव ल्याउन सकिन्छ, यसमा मात्रै अल्झिएर पार्टीका कामलाई अवारोध नगरौँ भन्ने आग्रह हो ।”

आमरुपमा तोकिएकै मितिमा वडा र स्थानीय पालिकाको अधिवेशन हुने र बाढी पहिराबाट प्रभावित स्थानमा केही पर सर्न सक्ने प्रवक्ता ज्ञवालीले जानकारी दिए । एमालेले वडास्तरमा यही कात्तिक ६ र पालिकास्तरमा कात्तिक ९ गते अधिवेशन गर्ने तय गरेको छ । आजको बैठकले गत असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न पार्टीको प्रथम विधान महाधिवेशन भव्य र ऐतिहासिक भएको ठहर पनि गरेको छ ।

सो महाधिवेशनले विचार तथा नीतिमा सर्वसम्मति हुनाका साथै भावनात्मक एकतासहित पार्टीमा नयाँ ऊर्जा प्रदान गरेको प्रवक्ता ज्ञवालीले बताए। सो महाधिवेशनले राजनीतिक प्रतिवेदन, विधान संशोधन र सङ्गठनात्मक प्रस्तावमा छलफल गरी पारित गरेको थियो । पारित विधानलाई पार्टीले प्रकाशन गरी तल्ला कमिटीमा पठाइसकेको छ ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot