Logo

ओम्नीमा भ्रष्टाचार भएको छ भने केपी ओलीलाई पनि नछोडियोस : विष्णु रिमाल (भिडिओसहित)



काठमाडौं, ५ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली नेता विष्णु रिमालले तोकिएकै मितिमा १०औं महाधिवेशन सम्पन्न गरिने स्पष्ट पारेका छन् । उनले एमालेले अहिलेसम्म घोषणा गरेका सबै कार्यक्रमहरु तोकिएकै मितिमा सम्पन्न भएको ईतिहास रहेको स्मरण गराए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले चितवनमा एमालेले शक्ति प्रदर्शनसहितको महाधिवेशन सम्पन्न गर्ने बताए । उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको कुनै निर्वाचन क्षेत्र नै नभएको टिप्पणी गरे । उनले प्रचण्डले माओवादी केन्द्रलाई अर्को निर्वाचनमा आफ्नो पार्टी एक नम्बर हुन्छ भनेर बोलेको कुरामा कुनै तुक नभएको पनि जिकिर गरे ।

उनले प्रचण्डको बोलीको ठेगान नभएको बताए । उनले आफूहरु कुनै एक व्यक्तिलाई बलियो बनाउनको लागि चितवनमा महाधिवेशन गर्न नलागेको पनि जिकिर गरे । १०औं महाधिवेशन आयोजक मूल व्यवस्थापन समितिको संयोजक रामबहादुर थापालाई बनाईएकोबारे कुनै विमति नभएको पनि रिमालको स्पष्ट पारे । उनले १० बुँदे सहमति पनि आम रुपमा लागु भैसकेको जिकिर गरे । उनले अब १० बुँदे भनेर बोलेर बसिरहन नपर्ने धारणा राखे । उनले १० बुँदे सहमति कार्यान्वयनमा कुनै समस्या नभएको स्पष्ट पारे । उनले एमालेले चाह्यो भने ७ दिनभित्रै वर्तमान सरकार ढाल्न सक्ने पनि ठोकुवा गरे ।

रिमालले केपी शर्मा ओलीको पालामा उठाईएका जम्मै विषयमा छानबिन गरियोस भन्ने धारणा राखेका छन् । उनले भनेका छन्–‘केपी ओलीले ललिता निवासको चाहीँ कार्यदल बनाउनुभयो, त्यसबाट अख्तियारमा मुद्दा गएको छ । त्यसमा को को पर्ने हुन ? तिनीहरुलाई कारबाही गरे भयो । ओम्नी, ओम्नीमा भ्रष्टाचार भएको छ भने कसैलाई पनि नछोडियोस, केपी ओलीलाई पनि नछोडियोस, विष्णु रिमाललाई पनि नछोडियोस । खोजियोस । उहाँहरु नै हुनुहुन्छ त सरकारमा । वाईडबडीपनि छानबिन गरौं । यति पनि गरौं । मातातिर्थको पनि गरौं । कोरिडोरको पनि गरौं । अहिले त हामी सरकारमा छैनौं नि । सरकारमा त उहाँहरु हुनुहुन्छ । संवैधानिक निकायहरु उहाँहरुको वरिपरि रहनुपर्छ । यदि बेठिक गरेको छ भने केपी ओलीलाई थुनिदिए भैगयो नि । कति ठूलो कुरा भयो र यो ?’



प्रतिक्रिया दिनुहोस्

Screenshot