Logo

मुख्यमन्त्री आचार्यको प्रस्तावमाथि आइतबार मतदान हुने



विराटनगर, ५ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश गर्ने भएका छन् । उक्त प्रस्तावमाथि आइतबार मतदान हुने दलहरुबीच सहमति जुटेको छ ।

भर्खरै सम्पन्न कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रस्ताव पेश गर्ने कार्यसूची तय गरेको हो । यद्यपि १ बजेका लागि आव्हान गरिएको प्रदेशसभा बैठक अझै सुरु भएको छैन । असोज २५ मा विश्वासको मत चाहिएको प्रस्ताव सरकारले संसद् सचिवालयमा पठाएको थियो ।

भदौ ९ मा एमाले विभाजित भएको भोलिपल्ट गठित सरकारले दल विभाजनको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने थियो । तर, संवैधानिक प्रावधानको आफू अनुकूल ब्याख्या गर्दै सरकारले आफ्नो आयु लम्ब्याउने प्रयास गरिरहेको थियो ।

प्रदेशसभाको गणितअनुसार मुख्यमन्त्री आचार्यले विश्वासका मत प्राप्त गर्न सक्दैनन् । अहिले प्रदेशसभामा ९२ सदस्य छन् ।त्यसमा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका तीन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक–एकजना सदस्य छन् । प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न ४७ मत चाहिन्छ । विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र राईलाई अघि सार्ने बुझिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्