काठमाडौं, ६ कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता विष्णु रिजालले पार्टीको देशभरि प्रायः वडा र पालिकामा अधिवेशन भैरहेको बेलामा आधारभूत तहका नेता तथा कार्यकर्ता उत्साहजनक रुपमा काममा खटिरहेको बेला केन्द्रीय तहका कुनैपनि नेताबाट कुनैपनि बहानामा अन्यौल सिर्जना गर्ने काम गर्न नहुने धारणा राखेका छन् । रिजालको टिप्पणी उपाध्यक्ष डा. भीमबहादुर रावलसँग लक्षित छ । हिजोमात्रै रावलले १० बुँदे सहमति कार्यान्वयनमा अध्यक्ष केपी शर्मा ओली उदासिन देखिएको भन्दै कार्यदलबाट राजीनामा दिने घोषणा गरेका छन् ।
त्यसको भोलिपल्ट आज रिजालले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कुनैपनि अन्यौल सिर्जना गर्ने काम गर्न नहुने बताएका हुन् । उनले लेखेका छन्-
१. आज नेकपा (एमाले) का देशभरका प्रायः वडा र पालिकामा अधिवेशन हुँदैछ । आधारभूत तहका नेता–कार्यकर्ता उत्साहजनक रुपमा काममा खटिरहेको बेला केन्द्रीय तहका कुनै पनि नेताबाट कुनै पनि बाहनामा अन्यौल सिर्जना गर्ने काम हुनुहुन्न ।
२.१० बुँदे सहमति पार्टी एकता र कमिटीहरुको पुनःस्थापनाका लागि महत्वपूर्ण आधार हो।साथै, यो सर्वकालिक र विधानभन्दा माथिको व्यवस्था होइन। दुईवटा जिल्लामा कुरा मिलेन भने नाममा राष्ट्रिय समस्याका रुपमा विद्रुपीकरण गर्न मिल्दैन र समस्या भएका स्थानमा केन्द्रित भएर समाधान खोज्नुपर्छ।
३.पार्टी सदस्यता नवीकरण धमाधम भइरहेको छ, वडा र पालिका अधिवेशन हुँदैछन्, एक महिनामै राष्ट्रिय महाधिवेशन हुँदैछ । यस्तो अवस्थामा १० बुँदे कि १० बुँदे भनेर समस्या खडा गर्नुभन्दा त्यसलाई कसरी मिलाएर रचनात्मक रुपमा लागू गर्न सकिन्छ भन्नेमा ध्यान केन्द्रित गर्नुपर्छ।
४.कांग्रेस र माओवादीको सरकारद्वारा अध्यादेशका नाममा संसारमै नभएको कृत्रिम र अस्थायी कानुन बनाएर एमालेलाई विभाजन गर्ने दुष्प्रयास गरिएको बेलामा पार्टीभित्र कुनै विषय उठाउँदा द्वन्द्व (कन्फ्रन्टेसन) बाट अघि जाने हो कि सहमति (कम्प्रोमाइज) बाट भन्नेमा स्पष्ट हुनु राम्रो हुन्छ ।
५. संकटको यस घडीमा हिजोका आग्रह/पूर्वाग्रहबाट मुक्त भएर नेकपा (एमाले) को सिंगो पंक्ति अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको दृढतापूर्वक गोलबन्द भएर अघि बढ्नुको विकल्प छैन ।