Logo

गैरसंवैधानिक इच्छा राख्ने प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने आधार बनिसकेका छन्ः रमण श्रेष्ठ



काठमाडौं, कात्तिक ६ । नेपाल बार एसोसिएसनका पूर्व महासचिव रमणकुमार श्रेष्ठले प्रधानन्यायाधीशमाथि यति धेरै नैतिक प्रश्न र विवाद उठिसकेकाले तत्काल मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् । शक्ति पृथक्कीकरणको मर्म विपरीत राजनीतिक र संवैधानिक भागबन्डा खोज्ने आदि क्रियाकलापले उनीमाथि महाभियोगका धेरै आधार बनिसकेको श्रेष्ठले बताए ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै वरिष्ठ अधिवक्ता श्रेष्ठले भने, “उहाँ यति धेरै विवादमा परिसक्नुभयो कि सिंगो न्यायपालिकामाथि नै प्रश्न उठ्ने स्थिति बन्यो । उहाँले कसरी न्यायपालिकाको नेतृत्व गरिरहनुभएको छ ? एउटा राजनीतिक दलको नेताले जस्तो मन्त्रीमा, संवैधानिक नियुक्तिमा भाग खोज्ने कुराले स्वच्छ न्याय सम्पादनको आशा लाग्न छाड्यो । खड्गप्रसाद ओलीले दुई चोटि संसद् विघटन गर्दा संवैधानिक नैतिकताका कुरा गर्ने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायाधीशको नैतिकता र आचारसंहिता ख्याल गर्नुपर्दैन ?”

उनले प्रधानन्यायाधीशले अब आफ्नो नैतिकताबारे आफैंले मूल्यांकन गर्नु उचित हुने बताए । उनले थपे, “सर्वोच्च अदालतको न्यायाधीश, पूर्वन्यायाधीशहरुको फोरम, नेपाल बार, राजनीतिक दल, सेवाग्राहीले प्रश्न उठाइसकेपछि आफ्नो पदीय गरिमाको ख्याल गर्नैपर्छ । गैर संवैधानिक इच्छा राख्नुहुन्छ । पेसी व्यवस्थापन गर्न चाहनुहुन्न, न्यायाधीश हरिकृष्ण कार्कीको समितिले नै अदालतमा भ्रष्टाचार छ, न्यायाधीश नै बिचौलिया छन् भनिसक्यो । त्यसैले अब उहाँले प्रधानन्यायाधीशको हैसियतमा काम गर्ने अवस्था छैन । उहाँले त्यो ख्याल नगर्ने हो भने अर्कै कोर्समा जान्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot