Logo

सडकमा झन्डै चार अर्बको क्षति



काठमाडौं, कार्तिक ८ । यो वर्षको वर्षायामदेखि कात्तिकको बेमौसमी पानी पर्दासम्म मुलुकभरका सडक तथा पुलहरू भत्किँदा झन्डै चार अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ । जेठ मसान्तदेखि परेको पानी र कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाका कारण मुलुकभरका सडक तथा पुलहरूमा उक्त रकम बराबरको क्षति पुगेको हो ।

कात्तिकमा परेको अविरल वर्षाका कारण एक अर्ब पाँच करोड रुपैयाँ बराबरको क्षति भएको छ । क्षतिको विवरण थप आउँदै गरेको हुँदा यो रकम पनि बढ्ने सडक विभागको आकलन छ । विभागका प्रवक्ता शिवप्रसाद नेपालले क्षतिको विवरण प्राप्त भए पनि अझै केही स्थानहरूबाट थप क्षति भएको विवरण आइरहेको हुँदा यो रकम बढ्न सक्ने बताए ।

यसअघि जेठ मसान्तदेखि परेको झरीका कारण सडक पूर्वाधारहरूमा दुई अर्ब ४० करोड रुपैयाँसम्मको क्षति भएको थियो । यस समयमा १०० भन्दा बढी सडकहरू र २६ ओटा पुलहरूमा क्षति पुगेकोे थियो ।

कात्तिक पहिलो साताकै केही दिनमा परेको अविरल वर्षाका कारण मुलुकभरका विभिन्न १९ स्थानका सडकहरूमा क्षति पुगेको छ, भने पुलहरू पनि भासिएका छन् । सडक विभागका अनुसार यस अवधिमा मुलुकभरका विभिन्न स्थानका सडक तथा पुलमा रू। १ अर्बभन्दा बढीको क्षति भएको छ । यसअघि जेठ मसान्तदेखि परेको वर्षाका कारण पनि सडक तथा पुलहरूमा ठूलो क्षति पुगेको थियो ।

कात्तिकमा परेको वर्षाबाट कालिकोट, सिन्धुली मनाङ, सल्यान, प्युठान, धनकुटा, बझाङ, दार्चुला, ओखलढुंगा, स्याङ्जा, डोटी, डडेलधुर र बैतडी जिल्लाका सडकमा क्षति पुगेको छ । यसमध्ये डुम्रे–बेशीसहर–चामे सडक खण्डको मनाङ जिल्लाका ३ स्थानका सडकहरू हालसम्म पनि अवरुद्ध रहेका छन् । यी सडक कात्तिक २ गतेदेखि नै अवरुद्ध छन् ।

भारी वर्षाका कारण मध्यपहाडी राजमार्गको सिन्धुली, सिद्धार्थ राजमार्ग, धनगढी–सहजपुर–बुडर–स्याउले, सतबाँझ–थाकतोली–दार्चुला–टिंकर सडकलगायतका स्थानहरूका सडकमा क्षति पुगेको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot