Logo

ऋषि धमलासँग प्रधानन्यायाधीश जबराको संक्षिप्त प्रतिक्रिया : ‘मैले किन राजीनाामा दिने ? हटाउने भए संवैधानिक प्रक्रियाबाट आउनुहोस’



काठमाडौं, ९ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले कसैले सडकबाट राजीनामा माग्दैमा राजीनामा नदिने स्पष्ट पारेका छन्। न्यायाधीशहरुसँगको सामूहिक छलफललगत्तै रिपोर्टर्स नेपाल डटकमको लागि पत्रकार ऋषि धमलासँग संक्षिप्त कुरा गर्दै प्रधानन्यायाधीश जबराले यस्तो बताएका हुन् ।

उनले भने,‘म राजीनामा दिन्नँ । राजीनामा दिनुपर्ने कुनै आधार र कारण नै छैन् । ममाथि लगाईएका सबै आरोप असत्य छन् । यस सम्बन्धमा मैले पटक पटक वक्तव्य जारी गरेको छु । कोही पनि भ्रममा नपर्नुहोस । म संविधानसम्मत् आएको हुँ, मलाई हटाउने हो भने संवैधानिक प्रक्रिया पूरा गरेर हटाउनुपर्छ ।’ उनले आफूले कहिल्यैपनि कार्यपालिकासँग भागबण्डा नखोजेको पनि स्पष्ट पारे । आफूसँग नाम जोडिएकाहरुलाई कुनैपनि नियुक्ती नदिन भनेर आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भनेको पनि उनले स्पष्टपारे । उनले गजेन्द्र हमाललाई पनि मन्त्री नबनाउन भनेको जिकिर गरे ।

आफ्नो राजीनामा माग्न आएका न्यायाधीशहरुलाई उनले आफूले राजीनामा नदिने अडान सुनाएको पनि जानकारी दिए । उनले भने,‘मैले किन राजीनामा दिने ? तपाईँहरुमाथि पनि आरोप लागेको छ। तपाईँहरु पनि राजीनामा दिन तयार हो भने म पनि दिन तयार छु । ममाथि लागेका सबै आरोप असत्य छन् । कपोकल्पित र भ्रामक छन् ।’ उनले आफू अदालतलाई सुधार गर्ने कुरामा सधैं तयार रहेको पनि विश्वास दिलाए । नेपाल बार एशोसिएसशनले उठाएका मागलाई सम्बोधन गर्न आफू तयार रहेको पनि सुनाए ।

न्यायालयले आफ्नो नेतृत्वमा राम्रो हाईट लिएको थियो भन्ने उनको दाबी छ। उनले भने,‘अहिले न्यायलयले जुन किसिमको जनविश्वास आर्जन गरिरहेको थियो, यसलाई धराशयी पार्ने उद्देश्यले ममाथि गलत आरोप र भ्रम फैलाईएको हो ।’ उनले आफू संविधानवादमा चल्ने सुनाए । उनले भने,‘म संवैधानिक विधि, प्रक्रिया पूरा गरेर आएको हुँ, संविधानमा बहिर्गमनको व्यवस्थापनि छ। संवैधानिक प्रक्रियामा जाँदा मलाई कुनै आपत्ति छैन् । सडकबाट दबाब दिएर हट्नुपर्छ र हटाउनुपर्छ भनेर जानु गैरसंवैधानिक आचरणको कुरा हो । मलाई यो पटक्कै स्विकार्य छैन् । म विधि र प्रक्रियाबाट आएको हुँ । म विधि र प्रक्रियाबाट जान तयार छु ।’ file photo



प्रतिक्रिया दिनुहोस्