रुपन्देही, ९ कात्तिक: नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले एमालेले देशको विकास र समृद्धिका लागि काम गरिरहेको बताएका छन् । नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उपमहासचिव पौडेलले देशको विकास र समृद्धि हासिल गर्ने काममा नेकपा एमाले लागेको बताए ।
उनले विगतको एमाले नेतृत्वको सरकारले राष्ट्रको स्वाभिमान उचो बनाउनुका साथै मुलुकको दिगो विकासका लागि काम गरेको दाबी गरे । उपमहासचिव पौडेलले एकताका साथ सम्पन्न भएको विधान महाधिवेशनबाट नीति र विधि निर्माणमा ऐतिहासिक सफलता प्राप्त गरेको जनाउँदै अब झनै सक्रिय भएर पार्टीलाई अनुशासित बनाउनतर्फ लाग्ने बताए ।
“अब जनताको विश्वास जितेर अनुशाासित ढङ्गले काम गर्दै अगाडि बढ्छौँ । संसदीय दल अब स्वेच्छाचारी हुने छैन । सबै नेता र कार्यकर्ता सम्मानित र स्वाभिमानी बनेर काम गर्ने वातावरण तयार गरी समावेशी पार्टी बनाउँछौ” उनले भने । अब नगरमा आउने नयाँ नेतृत्वले विकासमा भएका ढिलासुस्ती विरुद्ध खबरदारी गर्न आवश्यक रहेको बताउँदै उनले हरेक किसिमका बेथिति र विसङ्गती विरुद्ध लाग्न आग्रह पनि गरे ।
कार्यक्रममा पार्टीका प्रदेश अध्यक्ष लीला गिरी, नेता नेत्र पन्थी, भोजप्रसाद श्रेष्ठ, शिवराज सुवेदी, बाबुराम पन्थी, किसन ज्ञवाली, केशवराज पन्थी लगायतले पार्टीलाई अझै सशक्त बनाउन एकजुट भएर लाग्नुपर्ने बताए ।रासस