Logo

प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने वा राजीनामा माग्ने यो हाम्रो चासोको विषय होईन : केशब बडाल



काठमाडौं, ९ कार्तिक । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशब बडालले आफ्नो पार्टी प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउने वा राजीनामा माग्ने पक्षमा नभएको स्पष्ट पारेका छन् । उनले भने,‘महाभियोग लगाउने कि नलगाउने त्यो हाम्रो विषय नै होईन । गठबन्धन सरकारमा १६५ जना सांसदहरुको गणित छ, उहाँहरुले के गर्नुहुन्छ त्यो उहाँहरुको कुरा हो । एमाले महाभियोगको विषयमा अघि बढ्न आवश्यक छैन् । यो विषय महाभियोग वा राजीनामा दिने यो हाम्रो चासोको विषय होईन ।’

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आजको अवस्थामा पुर्याउनको लागि कसले बाध्य बनायो यो मुख्य विषय भएको पनि टिप्पणी गरे । उनले हिजो तत्कालिन प्रधानन्यायाधीश सुशिला कार्कीलाई महाभियोग लगाउन हुँदैन भनेर आफूले सशक्त आवाज उठाएको पनि स्मरण गराए । उनले संविधानलाई च्यातचुत गर्न र एमालेलाई सिध्याउन जेसुकै गर्ने काम यो बीचमा भएको भन्दै गुनासो पोखे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘अहिले जुन विषय उठिरहेको छ, पाँच जनाको ईजलासले यति घण्टाभित्र फलानोलाई प्रधानमन्त्री बनाउन भनेर परमादेश जारी गर्ने काम भयो, म त भन्छु अहिले किन प्रधानन्यायाधीशलाई मात्रै पाँचै जनालाई कारबाही हुनुपर्छ ।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले महाभियोग लगाउने भनेर नभनेको पनि स्मरण गराए । उनले भने,‘यो विषयमा पनि गठबन्धनको तीन थरीको कुरा आएको छ।’ हिजो एमाले नेतृत्वको सरकारले जनतामा जाने भन्दा प्रतिगमन हो भनिएको उल्ल्लेख गर्दै उनले मुलुकलाई अहिलेको गञ्जागोलको स्थितिमा ल्याउनको लागि विगत दुई वर्षदेखि षड्यन्त्र भएको पनि आरोप लगाए । उनले भने,‘यो परिस्थितको सिर्जनाकार गठबन्धन हो। न्यायलय पूनसंरचना गर्नुपर्छ भनेर कांग्रेस नेता गोविन्द भट्टराईजीले भन्नुभयो, यो सुनेर मलाई दुःख लाग्यो।’ उनले हिजो गरेको सेटिङको परीणाम अहिले छताछुल्ल भएको पनि टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot