Logo

निक्षेप संकलन र कर्जा प्रवाह रोकियो



काठमाडौं, कार्तिक १०। बैंकहरूको अपेक्षाविपरीत दशैं सकिएपछि वाणिज्य बैंकहरूको निक्षेप अनपेक्षित रूपमा घटेको छ । दशैंपछि अर्थात् कात्तिकको पहिलो साता वाणिज्य बैंकहरूको कुल निक्षेप नै झन्डै २० अर्बले घटेको छ ।

नेपाल बैंकर्स संघबाट प्राप्त तथ्यांकअनुसार कात्तिकको पहिलो साता कुल निक्षेप नै रू १९ अर्ब ५२ करोडले घटेको छ । गत असोज मसान्तसम्म बैंकहरूसँग कुल ४२ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप थियो । तर, कात्तिक ५ गतेसम्म आउँदा त्यो घटेर ४२ खर्ब ४९ अर्बमा सिमित भएको छ । दशैंपछि बैंकहरूमा थप नयाँ निक्षेप नआएको देखिएको छ ।

दशैंअघि सर्वसाधारणले खर्चको जोहो गर्न बैंकबाट पैसा झिक्ने गर्छन् । दशैं सकिएपछि भने खर्च गरेर बाँकी रहेको पैसा, दक्षिणाबापत आएको पैसा बैंकमा नै जम्मा गर्ने गरिन्छ । यसै आधारमा दशैंपछि निक्षेप संकलन बढ्ने बैंकहरूको अपेक्षा थियो । तर, उल्टो भएको कुल निक्षेप नै घटेको छ ।

असोजयता बैंकहरूको निक्षेप उत्साहपूर्ण रूपमा नै बढेको थियो । तर, कात्तिकमा आएर त्यसमा ब्रेक लागेको छ । सरकारले खर्च नगर्दा असोजको पहिलो सातासम्म निक्षेप संकलन हुन सकेको थिएन । अहिले सरकारले खर्च गर्न शुरू गरेसँगै निक्षेप पनि बढ्न थालेको थियो । तर, कात्तिकमा आएर सरकारको खर्च पनि घटेको छ ।

तथ्यांकअनुसार यस अवधिमा विदेशी मुद्राको निक्षेप ह्वात्तै घटेको छ । यो अवधिमा यस्तो निक्षेप १५ अर्ब ५७ करोडले घटेको छ । स्वेदशी मुद्राको निक्षेप भने ४ अर्ब ५४ करोड रुपैयाँले घटेको छ ।

गत असोज मसान्तसम्म १ खर्ब ५० अर्ब रुपैयाँ रहेको विदेशी मुद्राको निक्षेप अहिले १ खर्ब ३५ करोडमा झरेको छ । असोज मसान्तसम्म ४१ खर्ब १७ अर्ब रुपैयाँ रहेको स्वदेशी मुद्राको निक्षेप अहिले ४१ खर्ब १३ करोडमा सीमित भएको छ ।

बैंकहरूले आफूसँग भएको विदेशी मुद्राको डिपोजिट अर्को बैंकमा राखेर ब्याज आम्दानी गर्दै आएका थिए । तर, राष्ट्र बैंकले हालै त्यसमा रोक लगाएको छ । फलस्वरूप विदेशी मुद्राको निक्षेपमा कमी आएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । ‘बैंकहरूले आफूसँग भएको निक्षेप अर्को बैंकमा राख्दो मल्टीपल रूपमा निक्षेप गणना हुन्थ्यो ।

तर, त्यसमा रोक लगाएपछि अहिले खुद निक्षेप मात्रा गणना गरिएको छ, फलस्वरूप विदेशी मुद्राको निक्षेप घट्न गएको हो,’ उनले भने ।

निक्षेप संकलनमा ह्रास आउँदा त्यसको सोझो असर कर्जा प्रवाहमा परेको छ । बैंकहरूले असोज मसान्तसम्म उच्च मात्रामा कर्जा प्रवाह गर्दै आएका थिए । तर, कात्तिकको पहिलो सातामा कर्जा प्रवाह नै हुन सकेको छैन । यस अवधिमा कुल कर्जा प्रवाह नै ६३ करोड रुपैयाँले घटेको तथ्यांकमा उल्लेख छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot