Logo

चीनको ध्यान खतरनाक हतियार निर्माणमा



१३ औं शताब्दीमा चीनको समृद्धिका बाबजुद मंगोलियाका घुमन्तेका नाइके जेंगिज खाँले युद्धबाट पराजित गरी आधिपत्य जमाए । बेइजिङलगायत मुख्य शहरहरु ध्वस्त पारिदिए । चीनको आर्थिक समृद्धि घुमन्तेहरुको युद्धकला, एकता र आक्रामक सैन्य रणनीतिका सामु केही महिना पनि टिकेन । यो घटनाले चीनलाई नराम्रो धक्का दियो ।
अहिले चीन फेरि यो गल्ती गर्न चाहिरहेको छैन । उसले आर्थिक समृद्धिसँगै हतियारको निर्माण र सैन्य शक्ति बढाउँदै लगेको छ । विरोधी राष्ट्रप्रति उसको रणनीति कठोर बन्दै गएको छ । छिमेकमा पनि सैन्य उपस्थिति बढाएको छ ।

चीन विश्वको महाशक्ति बन्ने महत्वाकांक्षी योजनामा बढेको छ । उसले त्यस अनुसारको हतियार निर्माण र विश्वभर प्रभाव बढाउन आक्रामक योजना अगाडि सारेको छ । छिमेकमा प्रभाव बढाउने र सामरिक महत्वको क्षेत्रमा वर्चश्व बनाउने उसको दुरगामी योजनाहरु खुल्दै गएको छ ।

साउथ चाइना सीमा चीनको उपस्थिति बढ्दैछ । त्यहाँ उसले सैन्य सामाग्री बढाइरहेको छ । भारतसँगको सीमा क्षेत्रमा अत्याधुनिक हतियारसहित चीनले सैनिक उपस्थिति बढाएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले सैन्य हतियार र प्रविधि विकासमा नयाँ आधार खडा गर्न प्रयासमा जोड दिएका छन् । मंगलबार सिन्ह्वा न्युज एजेन्सीले सोमबार बेइजिङमा सैन्य सम्मेलनमा उनले दिएको अभिव्यक्तिबारे उल्लेख गर्दै यस्तो जोड दिएका हुन् । रणनीतिक क्षमता र सैनिक शक्ति बढाउने गरी प्रविधि र उपकरण विकासमा समेत जोड दिएका छन् ।

चीनले सैनिक तयारी, विश्वकै उच्चकोटीको र तिव्र गतिको आधुनिक हतियार र प्रविधि विकासमा छलफल भएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ । चिनियाँ सैन्य विज्ञ सोङ जोङपिङको भनाई उदृत गर्दै ग्लोबल टाइम्सले सन् २०३५ सम्म चिनियाँ राष्ट्रिय सुरक्षाको आधुनिकीकरणलाई सम्पन्न गर्ने गरी राष्ट्रपति सीको भनाई केन्द्रित भएको उल्लेख गरेका छन् ।

चीनले आधुनिक हतियार, लडाकु विमान र उपकरणबारे खुलासाहरु गर्दै आएको छ । चीनले लडाकु विमान आफै विकास गरिरहेको छ । लडाकु विमान बोक्ने ठूला विमानहरु निर्माणमा पनि प्रगति हासिल गरेको खुलाइसकेको छ । यो चीनको पहिलो पुस्ताको लडाकु विमान बोक्ने ठूलो विमान हुनेछ ।

चीनले अन्तरीक्षमा प्रहार गर्ने हतियारको प्रदर्शन गरिसकेको छ । यो हतियार पृथ्वीलाई घुमेर पुनः पृथ्वीको चिनियाँ क्षेत्रमै खसेको थियो । हतियार आवाजभन्दा छिटो चल्न सकेको थियो । चीनले अन्तरीक्ष हतियारको परीक्षण गरेबाट विश्वमै तरंग आयो । यसबारे आशंकाहरु पनि भए ।

अत्याधिक गतिको हाइपरसोनिक हतियार पनि चीनले विकास गरेको चर्चा छ । आवाजभन्दा छिटो प्रतिघन्टा २२००० किलोमिटरका दरले हतियारले गति लिन सक्छ ।

चीनसँग आणविक हतियार छ । समुन्द्री युद्धका लागि युद्धपोत देखि पनडुब्बीहरुको छन् । ठूलो संख्यामा लडाकु विमान छ । चीनले अमेरिकापछि सर्वाधिक बढी रकम हतियारमा खर्च गरेको देखिन्छ । उसले हतियारका लागि खर्चमा विस्तारै अमेरिकालाई पछि पार्ने संकेतहरु देखिदैछ ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot