Logo

प्रचण्डको रणनीतिः कहिले ४ हजार केन्द्रीय सदस्य त कहिले ३० लाख पार्टी सदस्य



काठमाडौं, ११ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी संगठन बनाउने र भत्काउने अनेकन गतिविधि गरेका छन् । उनले कहिले कहीं नभएको ४ हजारभन्दा बढी केन्द्रीय कमिटी निर्माण गरेका छन् । कहिले माओवादी केन्द्र नै विघटन गरेका छन् ।

प्रचण्ड स्वयंले आफूले विगतमा आफैले नेतृत्व गरेका पार्टीहरु विघटन गर्दै नयाँ बनाएको बताउने गरेका छन् । प्रचण्डले यसपटक ३१ लाखभन्दा बढी नेपाली जनतालाई माओवादी सदस्य बनाउने महत्वाकांक्षी योजना सारेका छन् ।

माओवादीले १० प्रतिशत जनतालाई पार्टी सदस्य बनाउने योजना अगाडि सारेर प्रचण्डले गत निर्वाचनमा आफ्नो दलले पाएको मतभन्दा झण्डै तीन गुना बढी संख्यालाई पार्टीमा ल्याउन खोजेका हुन् । गत निर्वाचनमा माओवादीले करिब १३ लाख मत पाएको थियो ।

एमालेले ५ लाख संगठित सदस्य बढाएको छ । नेपाली काँग्रेसका ९ लाख क्रियाशील सदस्य छन् ।

पौषमा माओवादीको राष्ट्रिय सम्मेलन आयोजना हुँदैछ । यसका लागि केन्द्रित रहेर सम्मेलनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तोकेको छ । यो योजना पार्टी सदस्य संख्या बढाउने रणनीति अनुसार नै छ ।

प्रदेशहरुबाट ६ सय प्रतिनिधि रहनेछन् । माओवादीले टोल भेला २७ कात्तिकमा, वडा भेला ४ मंसिरमा, पालिका सम्मेलन ११ मंसिरमा, २५ मंसिरमा प्रदेश सम्मेलन तय गरेको छ । राष्ट्रिय सम्मेलन १३, १४ र १५ पौषमा आयोजना हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot