काठमाडौँ, ११ कात्तिक: प्रतिनिधिसभामा “राष्ट्रिय दलित अयोगको वार्षिक प्रतिवेदन आव २०७७-७८” पेश भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाकोतर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडूले उक्त प्रतिवेदन पेश गरेका हुन् ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१० को उपनियम (४) बमोजिम सांसदबाट प्राप्त अनुपस्थितिको सूचना स्वीकृतिका लागि प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई सभाले स्वीकृत गरेको छ ।
प्रतिनिधिसभा बैठकमा लगातार १० वा १० भन्दा बढी पटक अनुपस्थित हुने सांसदको बैठकमा अनुपस्थितिको सूचनालाई जानकारी गराई स्वीकृत गर्नुपर्ने व्यवस्था रहेको छ । प्रतिनिधिसभाको १३ वटा बैठकमा अनुपस्थित हुने सांसद क्रमशः झलनाथ खनाल, कर्मा घले र प्रदीप गिरीको अनुपस्थितिको सूचनालाई सभामुख सापकोटाले निर्णयार्थ प्रस्तुत गरेका थिए ।
यस्तै बैठकमा सभामुख सापकोटाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले राजिनामा दिएको र उक्त मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्री शेरबहादुर देउवा स्वयम्ले सम्हाल्ने गरी कार्यभार तोकिएकोबारेमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही कात्तिक २९ गते दिउँसो १ बजे पुनः बस्नेछ ।-रासस/Photo By: Mukunda kalikote