Logo

हामीसँग महाभियोग लगाउने संख्या नभएर त चुप लागेर बसेका हौं, राज्यका तीनवटै अंग पंगु भए : लक्ष्मणलाल कर्ण



काठमाडौं, १२ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले आफूहरुसँग प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने संख्या नै नभएकोले त्यतातिर केही नसोचेको बताएका छन् ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले  राज्यको तीनवटै निकाय कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका पंगु भएको टिप्पणी गरे । उनले भने,‘आज राज्य कहाँ छ भनेर खोज्नुपर्ने बेला आयो । अहिले जनता रोईरहेका छन्। देशभरि बेमौसमी वर्षाको वितण्डा भयो । किसान मारमा छन् । सरकारले राहत दिनुपर्ने बेला हो । क्षतिपूर्ति दिने त भनेको छ, तर कहाँ र कहिले दिन्छ ? कार्यपालिका पंगु बनेर बसेको छ। यो बन्न नै तीन महिना समय लाग्यो ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले राजनीतिमा अदालत प्रवेश गरेकाले अहिले अदालतमा पनि राजनीति प्रवेश गरेको गुनासो छ । उनले भने,‘आज ६ लाख व्यक्ति नागरिकताविहीन छन् । म केपी ओलीलाई धन्यवाद छु । उहाँले हिजो नगारिकतासम्बन्धी अध्यादेश ल्याउँदा कोर्टले रोक्यो । अदालतको अवस्था यही छ। सर्वोच्च अदालतको लिडर प्रधानन्यायधाीश हुन । सारा न्यायाधीश एकातिर अनि प्रधानन्इायाधीश अर्कोतिर । अहिले पनि २८ हजार मुद्दा फैसला हुन बाँकी छ ।’

उनले अहिले देखिएको अदालतभित्रको समस्याको समाधान कोर्टले नै गर्नुपर्नेमा जोड दिए । उनले भने,‘अहिले न्यायाधीशहरु भन्छन् छोड्नुपर्छ । वकिलहरु त्यही भन्छन् । एक जनाले छोड्दा सुधार आउँछ भने किन बसिरहने ? सुधार गर्नुपर्छ । जनताको बोली ठूलो कुरा हो ।’

त्यसो भए तपाईँहरु महाभियोग लगाउनुहुन्छ त ? कारण र आधार छन् ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले हाँस्दै भने–‘महाभियोग लगाउने शक्ति नभएर त चुप लागेर बसेको हो नि । खोई त हामीसँग संख्या ? बेथिति कहिलेसम्म कायम राख्ने त ? जनताले कहिले न्याय पाउने त ?’



प्रतिक्रिया दिनुहोस्

Screenshot