Logo

फूल टिप्न अर्मपर्म, युरोप–अमेरिका पुग्यो भक्तपुरको मखमली



काठमाडौं, कार्तिक १३ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डुका फूल किसानलाई यतिखेर भ्याइनभ्याइ छ। तिहार नजिकिएसँगै किसानलाई बारीमा रोपेको मखमली, सयपत्री, गोदाबरीलगायत फूल टिप्न र माला गास्न चटारो छ। बिहान शीतसँगै टिपेका मखमली फूल दिउँसो बेच्नका लागि गाँस्न र अपराह्न पुनः फूल टिप्न सघाउन यहाँका किसान आपसमा अर्मपर्म नै गर्न थालेका छन्।

भक्तपुरको ताथली र गुन्डु, सिपाडोल, चित्तपोल, ताथली, सुडाल, बागेश्वरीलगायत ठाउँमा अहिले अधिकतर कृषकका बारीमा ढकमक्क मखमली र सयपत्री फूलेको देखिन्छ।

स्थानीय फूल कृषक सरिता गिरीका अनुसार नगदेबालीका रूपमा पछिल्लो २० वर्षदेखि यहाँ फूलखेती हुँदै आएको छ। तिहार आउनुभन्दा हप्ता दिनअगावै मखमलीको माला गाँसेर बजार पठाइसकेको बताउने उनले एक लाख रूपैयाँबराबरको माला विदेश निर्यातका लागि बिक्री गरिसकेको बताइन्।

‘पहिला यहाँका स्थानीय वनमाला जातिले मात्रै मखमलीको खेती गर्ने गरेका थिए। वनमालाहरू घरघरै फूल दिएर साटेको अन्न र पैसाले परिवारको गुजारा चलाउँथे,’ उनले भनिन्, ‘२५ वर्षअघिसम्म वनमालाले छोएको फूल चोखो हुन्छ भन्ने मान्यता रहे पनि हाल प्रायः सबैले व्यावसायिक रूपमा फूलखेती गर्न थालेका छन्।

मखमली फूलका साथै मकै, बोडी, भटमासलगायत गेडागुडी बारीमा सँगै रोप्न मिल्ने र आम्दानीसमेत राम्रै हुने भएकाले अहिले यहाँका किसान टनेल बनाएरै व्यावसायिक फूलखेतीतर्फ आकर्षित भएको उनको भनाइ छ।

मखमली फूलखेतीमा गुन्डु आत्मनिर्भर बनिसकेको उनको दाबी छ। अहिले मखमलीको स्वदेशमा मात्र नभएर भक्तपुरको मालाको खोजी युरोपमा समेत हुन थालेको गिरीले बताइन्।

त्यस्तै स्थानीय कल्पना बस्नेतसमेत फूल बिक्रीबाट मात्रै किसानले ५० हजारदेखि ३ लाख रूपैयाँसम्म आम्दानी गर्दै आएको बताइन्। ‘तिहारको पाँच दिन अघिदेखि नेपाली बजारमा मखमलीको माग अत्यधिक हुने गरेको भए पनि यसअघि नै किसानले अमेरिका, अस्ट्रेलिया, जापान, क्यानडालगायत देशमा पठाउन मखमली बिक्री गरिसकेका छन्,’ उनले भनिन्, ‘व्यापारी बारीमै आउने र हरेक वर्ष मखमलीको माग समेत बढ्दै गएकाले फूल व्यवसाय आम्दानीको राम्रो स्रोत बनिसकेको छ।’ फूलखेतीमा मेहनत र फूलका बोट बचाउन समस्या रहे पनि फूल बिक्रीका लागि बजारको अभाव नरहेको उनको भनाइ छ। जेठमा रोपेको मखमली साउनको सुरुवातसँगै टिप्न सुरु हुने उनले बताइन्।

भक्तपुरको सूर्यविनायक र चाँगुनारायण नगरपालिका क्षेत्रमा हुने व्यावसायिक फूलखेतीबाट मात्रै एक सिजनमा करिब पाँच करोड रूपैयाँको फूल बिक्री हुने गरेको छ।

धानमा भन्दा फूलबाट राम्रो आम्दानी हुन थालेपछि मकै बारीमै दोहोरो बालीका रूपमा किसानले फूलखेती गर्दै आएको स्थानीयको भनाइ छ। भारतलगायत तेस्रो मुलुकबाट आयातीत फूलले नेपाली बजार ओगटिरहेको बेला यहाँ उत्पादित मखमली युरोप–अमेरिका निर्यात गर्न पाउँदा किसान दंग छन्।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार यस वर्ष सयपत्री, मखमली र गोदाबरीका १८ लाख ६५ हजार मालाको माग रहेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्