Logo

देउवाका कारण महेन्द्र शाहीको मुख्यमन्त्री पद जोगिने, सुदुरपश्चिमका मुख्यमन्त्री भट्ट ‘बलिको बोको’ बन्दै



काठमाडौं, १३ कार्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा नदिने भएका छन्। यसअघि कांग्रेस, माओवादी केन्द्र र तत्कालिन माधव नेपाल समूहबीच भएको सहमतिअनुसार मुख्यमन्त्री शाहीले अहिलेसम्म राजीनामा दिईसक्नुपर्ने थियो ।

तर, केन्द्रीय गठबन्धनका कारण शाहीले अब राजीनामा नदिने भएका हुन् । खासगरी कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णालीमा भन्दापनि सुदुरपश्चिम प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन चाहेपछि कर्णालीका मुख्यमन्त्री शाहीले आरामको श्वाँस फेरेका छन् ।

प्रधानमन्त्री देउवाले आफू सुदुरपश्चिम प्रदेशको व्यक्ति भएकोले पनि होला आफ्नो प्रदेशमा कांग्रेसकै नेतृत्वमा सरकार बनाउन चाहेका छन् । यसको लागि उनले गठबन्धनमा आवद्ध दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपालसँग पनि छलफल गरिसकेका छन् । यसमा दाहाल र नेपाल दुवैले देउवाले सारेको प्रस्तावमा सहमति जनाएको बुझिएको छ ।

यस विषयमा प्रधानमन्त्री देउवा बेलायत भ्रमणबाट फर्किएपछि गठबन्धनका शीर्ष नेताबीच पूनः छलफल हुने बताईएको छ । उता, कर्णाली प्रदेशका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भने कांग्रेस–माओवादी र माधव नेपालबीच भएको सहमति कार्यान्वयन हुने विश्वास दिलाएका छन् । केन्द्रमा गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमति लागु भए सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट बलिको बोको बन्ने निश्चित् छ । file photo



प्रतिक्रिया दिनुहोस्