Logo

‘हामीले प्रधानन्यायाधीशको राजीनामा मागेकै छैनौं, उहाँले संविधान र लोकतन्त्र बचाउनुभएको छ’ : रामकृष्ण यादव (भिडिओसहित)



नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रामकृष्ण यादवले आफूहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन् । आफूहरु १२ जना केन्द्रीय सदस्यहरुले निकालेको विज्ञप्तीमा कतैपनि प्रधानन्यायाधीश जबराको राजीनामा मागिएकोबारे एक शब्दपनि नलेखिएको उनले स्पष्ट पारे । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले न्यायापालिकाभित्र देखिएको विवाद छिटो समाधान हुनुपर्ने धारणा राखेका छन् । प्रस्तुत छ नेता यादवसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंशः

तपाईंहरु प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ भनेर लाग्नुभएको छ, नेपाली काँग्रेसका युवा नेताहरुले वक्तव्य निकाल्न थालेका छन्, तपाईंहरुले किन यसो गर्नुभयो ?

नेपाली काँग्रेसका हामी १२ जान केन्द्रीय सदस्यहरुले एउटा प्रेस विज्ञप्ती निकालेका छौं । त्यसमा राजीनामा दिनैपर्छ भनेर भन्दापनि अहिले संघीय लोकतान्त्रि गणतन्त्रात्मक संविधान नेपालमा हामी धेरै संघर्ष गरेर आएका छौं । नेपाली काँग्रेस स्थापना काल देखिनै न्यायपालिकाको स्वतन्त्रता, कानुनी राज्यको अवधारणालाई मान्दै आएका छौं । त्यसकारण अहिले न्यायपालिकामा जुन खालको विवाद देखिएको छ । पत्रपत्रिकामा साथै बाहिर चर्चा÷परिचर्चाको विषय भएको छ । त्यसकारणले नेपालको न्यायापालिकामा नकारात्मक विवाद देखिएको छ । जनतामाथि पनि एउटा निराशापन उत्पन्न भएको छ । त्यसको लागि नेपाली काँग्रेस एउटा जिम्मेवार पार्टी हो । लोकतान्त्रिक पार्टी हो । त्यसैले हाम्रो पार्टीले यसबारेमा अलमलमा नपरेर एउटा निर्णयमा पुग्नुपर्छ भनेरमात्रै विज्ञप्ती निकालेका छौं ।

प्रधानन्यायाधीशको राजीनामा माग्ने अधिकार तपाईंहरुलाई छ त ?

हामीले राजीनामा मागेका छैनौं । प्रेस विज्ञप्ती राम्रोसँग पढ्नुहोला । हामीले नेपाली काँग्रेस एउटा ऐतिहासिक पार्टी हो–उसले त्यो भूमिका निर्वाह गर्नुपर्छ भनेका हौं ।

तपाईंहरु अदालतमा विवाद सिर्जना गर्ने र सिध्याउने खेलमा लाग्नुभयो होईन् ? काँग्रेसको काम भनेको बिगार्ने हो ?

होइन्, हामी त्यसमा लागेका होइनौं । अदालत निश्पक्ष रहोस, अदालतमाथि बाहिर टिकाटिप्पणी नहोस, अदालतमाथि आम जनताको नैराश्यता नबढोस भन्ने हाम्रो चाहना हो । अदालतको गरिमा नघटोस भन्ने उद्देश्यको लागि नेपाली काँग्रेसका आदरणीय सभाापतिज्यू, नेपाली काँग्रेस पार्टी र अहिलेको सरकारले यस विषयमा गम्भिरता देखाउनुपर्छ भनेर हामीले विज्ञप्ती निकालेका छौं । राजीनामाको कुरा हामीले गरेका छैनौं ।

उसोभए चर्चामा आउनको लागि तपाईंहरु जे पनि गर्नुहुन्छ ?

त्यसो होइन्, हामीले चर्चामा आउनको लागि त्यसो गरेका होइनौं । देशमा यति ठुलो विवादहरु भइरहेको छ । हिजोमात्र हेर्नु बारमा त्यत्रो लडाईं परेको छ । जताततै अदालतको बारेमा चर्चा भइरहेको छ । त्यसैले हामीले यस्तो विषयमा सरकारले ध्यान दिनपर्योमात्र भनेका हौं ।

तपाईंहरु आफ्नो पार्टीको महाधिवेशन समयमा बनाउन सक्नुहुँदैन, नेपाली काँग्रेस पार्टी संवैधानिक संकटमा गइसकेको छ, त्यतातिर तपाईंहरुको ध्यान जाँदैन ? अनि अदालतको विवादमा हात हाल्ने ?

तपाईंले गलत किसिमको व्याख्या गरिरहनुभएको छ । हामीले त अदालत स्वतन्त्र, निश्पक्ष नै रहोस भन्ने हाम्रो पार्टीले पनि चाहिरहेको छ । हामी विज्ञप्ती निकाल्नेहरुको चाहना पनि त्यही हो । जहाँसम्म हाम्रो पार्टीको महाधिवेशनको कुरा छ । यसमा निश्चित् रुपमा हामीले विलम्ब गरेका छौं । नेपाली काँग्रेसजस्तो प्रजातान्त्रिक पार्टीले समयमा अधिवेशन गराउनुपर्दथ्यो । जुन कारणले गर्दा अहिलेसम्म भएको छैन् । नेतृत्वको कारणले होस अथवा क्रियाशिल सदस्यताको छानबिनको कारणले होस । वास्तवमा हामीले पहिले नै बनाउनुपर्ने थियो । नेपाली काँग्रेसजस्तो प्रजातान्त्रिक पार्टीले प्रजातान्त्रिक प्रक्रियाअनुरुप महाधिवेशन बनाउन सकेको छैन् । अब निकट भिविष्यमा स्थानीय तहको निर्वाचन आउदै छ । राष्ट्रिय सभा, प्रदेश र प्रतिनिधिसभाको चुनाव आउँदैछ । त्यसकारण पहिले नै हामीले महाधिवेशन बनाउनुपर्दथ्यो । तर, हामीले त्यसो गर्न सकेनौं । अब मलाईं लाग्छ नेपाली काँग्रेसको महाधिवेशन प्रारम्भ भइसकेको छ । बाँकी रहेको केही जिल्लामा पनि हुँदैछ । अब यही मंसिरभित्र सबे अधिवेशन सम्पन्न हुन्छ ।

तपाईंहरु बोल्नुहुन्छ तर, काम गर्न सक्नुहुँदैन । जनताले कसरी पत्याउने ?

होईन्, तपाईंले सबै कुरा हेरिरहनुभएको छ । हामीले वास्तवमा अहिलेपनि मुलुकको जुन राजनीतिक अवस्था रहेको छ । जुन पार्टी चार वर्षसम्म समकालिन थिए, उसैले न्यायपालिकामाथि प्रहार गर्यो । संवैधानिक निकायमाथि प्रहार गर्यो । जनताहरुलाई शान्ति र सुरक्षा दिन सकेन । कोभिडको समस्या समाधान गर्न सकेन । दुई पटकसम्म संसद विघटन गर्यो । अनि अहिले संसद् पुनस्थापना भइसकेपछि संसद् चल्न दिनुभएको छैन् । संसद्मा छलफल भइरहेको छैन् । जनताका प्रतिनिधिहरु बोल्न पाइरहेका छैनन् ।

तपाईहरुले काम गर्न नसक्ने अनि अर्कोलाई आरोप लगाउने ?

हाम्रो पार्टीमा पनि केही त्रुटि भएको होला । त्यो आफ्नो ठाउँमा छ । तर, हाम्रो पार्टीले यो देशमा संविधान बनाएको छ । निर्वाचन सम्पन्न गराएको छ । माओवादीको समस्या समाधन गरेको छ । मधेशका मुद्दा समाधान गर्नको लागि अगाडि बढेको छ । हाम्रो पार्टीले लोकतन्त्रको विपक्षमा कुनैपनि काम गरेको छैन् । न्यायपालिकाविरुद्ध काम गरेको छैन् । संसद्मा तोडफोडको राजनीति हामीले कहिल्यै गरेका छैनौं । नेपाली काँग्रेसले जहिले पनि शान्ति चाहेको छ ।

तपाईंहरुले प्रधानन्यायाीशविरुद्ध महाभियोग लगाउनको लागि पार्टी नेतृत्वलाई दबाव दिइरहनुभएको हो ?

अहिले न्यायालयमा समस्याको रुपमा धेरैको कुराहरु देखिएको छ । यो कुरा अहिलेको अवस्थामा राष्ट्रिय मुद्दाको रुपमा देखिएको छ । यसबारेमा नेपाली काँग्रेसले मौन नरहेर आफ्नो भनाई राख्नुपर्यो भनेर हामीले भनेका हौं ।

तर, प्रधानन्यायाधीशले म कुनैपनि हालतमा राजिनामा दिन्नँ, मलाई हटाउने हो भने संवैधानिक रुपमा आउ भन्नुभएको छ नि ?

प्रधानन्यायाधीश त वास्तवमा अब अहिले केही विवादित हुनुभएको होला तर, विगतमा उहाँले जुन किसिमको निर्णय गर्नुभएको छ । उहाँले संविधान र लोकतन्त्र बचाउनुभएको छ । जनताको प्रतिनिधी संस्थालाई बचाउनुभएको छ । त्यो कुरालाई हामीले सम्मान गर्यौ । आज केही कुराहरु आएका छन्, त्यसमा टिकाटिप्पणी भएको छ । त्यो गलत कि सही भन्ने कुरामा न्यायापालिका यसरी विवादित नहोस भन्ने हाम्रो धारणा हो । हामीले दबाव दिनको लागि होईन्, न्यायपालिकालाई विवादमुक्त बनाउनुपर्यो भनेर सुझाव दिएका हौं ।

महाभियोग ल्याउन तपाईंहरुले नसक्ने, नेकपा (एमाले) ले तपाईंहरुलाईं साथ नदिने । यो अवस्थामा निकाश चाहीँ के होला ?

होइन्, मैले अघिपनि भनें कि नेपाली काँग्रेस एउटा जिम्मेवार पार्टी हो । अहिले गठबन्धन सरकारको नेतृत्व नेपाली काँग्रेसले नै गरिरहेको छ । हाम्रो आदरणीय सभापतिज्यूले त्यसको नेतृत्व गरिरहनुभएको छ । नेकपा (एमाले) सँग पनि छलफल भएको छ । तर, ओलीजीले जहिले पनि अराजकतावादी कुरालाई प्राथमिकता दिनुहुन्छ । उहाँ आज एकथोक बोल्नुहुन्छ अनि भोलि अर्कैथोक बोल्नुहुन्छ । उहाँले वास्तवमा स्थिरता चाहनुभएको छैन् । यो मुलुकलाई स्थिर हुन दिन चाहिरहनुभएको छैन् । हिजो उहाँले कानुनी राज्यलाई क्षतविक्षत् बनाउनुभयो । संवैधानिक अंगहरुलाई उहाँहरुले कमजोर बनाउनुभएको छ । त्यसकारण उहाँ त यो मुलुकमा अराजकता चाहिरनुभएको होला । तर, मलाई लाग्छ जसले पनि यो मुलुकको हितमा सोच्नुपर्छ । सबै पार्टीहरुले मुलुकको हितमा सोचिदिनुपर्छ । न्यायपालिका र व्यवस्थापिकाको बारेमा सोच्नुपर्छ । किनभने यो मुलुक नै रहेन भने केही पनि रहँदैन् । हिजो एक जनाले नेपालमा फलानोतन्त्र आउनुपर्छ भन्दै थियो । नेपाली जनताले हिजो जुन तन्त्रलाई समाप्त गरे, त्यो कुरा वास्तवमा अहिले नउठोस । अहिलेको अवस्थामा नेपालमा जतिपनि राजनीतिक दलहरु छन्, सबै पार्टीको नेतृत्वले मुलुकको हितमा सोच्नुपर्छ ।

अब प्रधानन्यायाधीशले राजीनामा नदिए तपाईंहरु के गर्नुहुन्छ ?

होइन्, राजीनमा त हामीले त मागेकै छैनौं ।

यतिबेला प्रधानमन्त्री शेरबहादुर देउवा देशबाहिर हुनुहुन्छ, बालकृष्ण खाँण कार्यबाहक प्रधानमन्त्री हुनुहुन्छ । उहाँ महामन्त्रीमा उम्मेद्धार हुने भित्रभित्रै कुरा चलिरहेको छ, अब तपाईंहरुको चुनौति उहाँ बन्नुभयो होइन् ?

त्यसो होइन्, उहाँ त अहिले गृहमन्त्री हुनुहुन्छ । उहाँपनि तरुण दलको अध्यक्ष भइसक्नुभएको छ । नेविसंघको अध्यक्ष भइसक्नुभएको छ । हामीभित्रको समस्याहरु आफ्नो ठाउँमा होला अधिवेशनको कुरा समयमा हुन सकेन । त्यो आफ्नो ठाँउमा छ । तर, राष्ट्रिय मुद्दामा हाम्रो असहमति छैन् ।

तर, बालकृष्ण खाँण बलियो हुुनुभयो, तपाईंहरुलाई प्रतिस्पर्धा गर्न गाह्रो होला नि ?

होइन्, गाह्रो त अब हाम्रो प्रजातान्त्रिक पार्टी हो । प्रजातान्त्रिक प्रणालीअनुरुप प्रतिस्पर्धा गर्ने हो । पार्टीमा तलदेखि माथिसम्म सबैले आफ्नो भूमिका निर्वाह गरेका छन् । सबैजनाले आफ्नो हैसियतअनुसार पार्टीमा प्रतिस्पर्धा गर्ने काम हुन्छ ।

उसोभए गृहमन्त्रीले अहिलेसम्म राम्रो काम गर्नुभएको छ भन्ने तपाईहरुको भनाई हो ?

अब उहाँ अहिले सरकारमा हुनुहुन्छ । सरकारले अहिले विवादित काम गरेको छैन् । आम जनताले शान्ति–सुरक्षा पाइरहेको छ । हिजोजस्तो दिन–प्रतिदिन बलात्कारका घट्ना घटेका छैनन् । अहिलेसम्म कसैलाई पनि प्रतिशोधको हिसाबले कसैलाई मुद्दा चलाइएको छैन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot