Logo

प्रचण्डले बनाउन लागे महागठबन्धन, को को आउलान् ?



काठमाडौं, १३ कात्तिक । नेकपा माओवादीका केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी आमनिर्वाचनमा पहिलो दल बन्ने गरी विचार मिल्ने दल र नेताहरुसँग एकताको प्रस्ताव गरेका छन् । उनले पूर्वमाओवादी र माधवकुमार नेपालसँग एकताको प्रस्ताव गरिसकेका छन् ।

आज सर्लाही पुगेर प्रचण्डले उपेन्द्र यादव र महेन्द्र राय यादवको नाम तोकेर पार्टी एकताको प्रस्ताव गरेका छन् । त्यस्तो एकताको घोषणा जनकपुरमा गर्न तयार भएको समेत स्पष्ट पारेका थिए ।

प्रचण्डले भित्री रुपमा उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसँग एकताको प्रस्ताव धेरै अघि गरिसकेका थिए । त्यसमा दुवै नेता सकारात्मक भएको बुझिएको छ । यादव र भट्टराई पूर्वमाओवादी नेता हुन् ।

प्रचण्डले नेत्रविक्रम चन्द्र विप्लव र मोहन वैद्य किरणलाई पनि एकता प्रस्ताव पठाइसकेका छन् । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनालसँग उनको पुरानै सहकार्य छ । दुवैसामु एकताको भित्री सहमति बनिसकेको बुझिएको छ ।

प्रचण्डले वामदेव गौतमलाई पनि मिलाउन खोजेका छन् । नयाँ दल खोल्ने अभियानमा रहेका गौतमलाई प्रचण्डले मनाउन खोजिरहेका छन् । गौतमको प्रचण्डसँग लामो निकटता छ ।

पूर्वमाओवादीसहित माधवकुमार नेपाल र वामदेव गौतम जस्ता नेताहरुलाई एउटै पार्टी वा गठबन्धनमा ल्याएमा चुनाव जितिने प्रचण्डको आँकलन देखिदैछ । त्यही आधारमा उनी सक्रिय भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot