Logo

असर्फी उत्पादन शुरू गर्दै टक्सार, १५ गतेबाट बिक्री



काठमाडौं, कार्तिक १४ । दुई वर्ष अघिदेखि रोकिएको असर्फी उत्पादन टक्सार महाशाखाले शुक्रबारबाट पुनः शुरु गरेको छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखा बबरमहलस्थित नेपाल औषधि लिमिटेड परिसरमा स्थानान्तरण भएपछि असर्फी छपाइ ठप्प भएको थियो ।

महाशाखाका निर्देशक विनोद आचार्यले राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नरलगायतको उपस्थितिमा परीक्षण छपाइ शुरु गरिने जानकारी र्दिए । आचार्यले भने– ‘महाशाखाले तिहारका लागि नयाँ असर्फीे छपाइ गर्ने गरी तयारी गरेको छ । परीक्षण छपाइ सफल भए लगातार रूपमा असर्फी छाप्ने छौं ।’

निर्देशक आचार्यका अनुसार गत वर्ष पुरानो स्टक असर्फी बिक्री गरिरहेकोमा यो वर्ष सकभर नयाँ सिक्का बिक्री गर्ने तयारी भएको छ । कात्तिक १५ गतेबाट बिक्री शुरु गर्न लागेको महाशाखाले एक जनालाई एउटा मात्र सुनको असर्फी खरिद गर्न दिने व्यवस्था गरेको छ ।

निर्देशक आचार्यले हाल करिब २५ किलोजति सुनको सिक्का तयारी अवस्थामा रहेको र थप छाप्ने काम शुरु गरिरहेको जानकारी दिँदै यो तिहारका लागि महाशाखाले २ दशमलव ५, ५ र १० ग्रामका असर्फी बिक्री गर्ने बताए ।

बजारमा आउने मूल्यको उतार–चढाबसँगै असर्फीको मूल्य दैनिकरूपमै फरक पर्ने बताइएको छ । महाशाखाको ढुकुटीमा गालिएको सुन, चाँदीका साथै विभिन्न सरकारी निकायले उपलब्ध गराएको सुन, चाँदी राखिएको छ ।

महाशाखाले हाल गणेश र लक्ष्मीको फोटो अंकित सुन र चाँदीको असर्फी तयार गरिसकेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्