Logo

को–को छन् डीआईजीको दौडमा?



काठमाडौं, कार्तिक १४ । सरकारले नेपाल प्रहरीतर्फ डीआईजीको दरबन्दी थप गर्ने तयारी गरेको छ। प्रहरी प्रधान कार्यालयले पहिले डीआईजीले सम्हाल्दै आएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, ट्राफिक प्रहरी महाशाखालगायतमा डीआईजीलाई नेतृत्व दिनेगरी दरबन्दी थप गर्ने तयारी गरेको हो।

सोसम्बन्धी प्रस्ताव प्रहरी प्रधान कार्यालय नक्सालले गृृह मन्त्रालयमा पठाइसकेको छ भने गृहमन्त्री बालकृष्ण खाँणसमेत डीआईजीको दरबन्दी थप गर्ने विषयमा सकारात्मक देखिएका छन्।

गृहमन्त्री खाँणले शनिबार गृह मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमासमेत डीआईजीको संख्या बढाउनुपर्ने आवश्यकता रहेको बताएका हुन्।

‘प्रहरी संगठनमा ८० हजारको दरबन्दी छ तर प्रहरीको संख्या दरबन्दीभन्दा झण्डै ८र९ हजार नै कम छ, पहिले डीआईजीले हेर्ने कतिपय स्थानमा अहिले एसएसपीले नेतृत्व गरिरहेका छन्,’ पत्रकारसँगको भेटघाटमा खाँणले भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, ट्राफिक प्रहरीलगायतमा डीआईजीको दरबन्दी थियो, अहिले झन सुरक्षा चुनौती कम भएको होला त रु, ट्राफिकको समस्या पनि झन बढ्दो छ।’

गृहमन्त्री खाँणले सुरक्षाकर्मीबाटै सुरक्षाको गम्भीरतालाई लिएर संख्या बढाउनुपर्ने बहस भएको भन्दै त्यसमा आफू पनि सकारात्मक रहेको भनेका हुन्। डीआईजीको दरबन्दी थपका लागि अर्थ मन्त्रालयले स्वीकृति दिनुपर्छ।

स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले गृहमा ६ डीआईजीको संख्या थप गर्न प्रस्ताव गरेको छ। प्रहरीमा प्रशासनका २६ र प्राविधिकतर्फ ८ गरी ३४ डीआईजीका दरबन्दी थिए। तर, चैत २०७६ मा केपी ओली नेतृत्वको सरकारले प्रशासनका २६ मध्ये १० वटा दरबन्दी कटौती गरी १४ मा झारेको थियो। पछि पुनः ५ दरबन्दी थप गरी १९ पु-याइएको थियो।

को को छन डीआईजी बन्ने दौडमा?

डीआईजी बन्ने दौडमा एसएसपीहरू नरबहादुर खत्री, हरिराज वाग्ले, मोहनकुमार आचार्य, नलप्रसाद उपाध्याय, पूजा सिंह, सुशील यादव, शेखर कोइराला, नरबहादुर केसी, सन्दीप भण्डारी, उमेश जोशी, टेकप्रसाद राई, श्यामलाल ज्ञवाली, दीपक थापालगायत छन्। यसमध्ये केही एसएसपी बढुवामा नपरे मंसिर अन्तिमदेखि पौसभित्र अवकाश हुनेछन्।

१४ एसएसपीको दरबन्दी पनि थपिँदै

डीआईएजी बढुवासँगै एसएसपीका १४ दरबन्दी थप गर्ने तयारी गृह मन्त्रालयको छ। हाल एसएसपीका ६ पद रिक्त छन्। सरकारले ६ वटा डीआईजीको दरबन्दी थपेमा भने थप ६ गरी १२ वटा स्थान खाली हुनेछ। दरबन्दी थप भएका १४ समेत गर्दा २६ एसएसपी पदरिक्त हुनेछन्। राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्