काठमाडौं, १४ कात्तिक । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले लोकतान्त्रिक पार्टी भित्र नेतृत्वले अलोकतान्त्रिक काम गर्दा त्यसको विरोधमा सशक्त आवज उठाउनु पर्ने बताएका छन् । आइतबार नेपाली काँग्रेस किर्तिपुर नगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीको नेतृत्वले हेलचेक्राई गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आईपुगेको टिप्पणी गरे ।
पार्टीको नेतृत्व र अवस्था सुधार अन्य पार्टीका नेता कार्यकर्ताले नगर्ने भन्दै नेता सिंहले आफुहरू नै पार्टी सुधारमा लाग्नु पर्ने बताए ।
‘पार्टी भित्रको समस्यामा कुरा हामीले नउठाए कस्ले उठाउँछ ? पार्टीको समस्या हामी आफै समधान गर्ने हो’ नेता सिंहले भने,‘बाटो विराउनेलाई बाटो देखाउनु पर्दछ । आलोचना गर्दा पार्टीको विधी र पद्धतीको रक्षा हुन्छ ।’ पार्टी भित्रका भजन मन्डलीकाले नेतृत्व अलमल्लमा पारिरहेको समेत जिकिर गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले काँग्रेसको इतिहास राम्रो छ, भन्दैमा चुप लागेर बसे आगामी चुनावमा जनताले त्यसको नतिजा देखाईदिने चेतावनी समेत दिए । इतिहास राम्रो छ, अझै राम्रो गर्नका लागी सबै नेता कार्यकर्ता लाग्नु पर्ने उनको धारण रहेको छ ।
उनले १३औ महाधिवेशन पछि काँग्रेस इतिहासको कमजोर अवस्था आईपुगेको बताए । अहिले कै अवस्था कायम रहे राष्ट्रिसभाको चुनावमा भाग लिनबाट पार्टी बञ्चित हुनुपर्ने जोखिम आएको भन्दै त्यसको जिम्मेवारी बर्तमान नेतृत्वले लिनुपर्ने उनको भनाई छ ।
विवाद मिलाउन पर्नेमा नेतृत्वले त्यसो गर्न नसकेको उनले आरोप लगाए । केही व्यक्तिले आफ्नो पक्षमा मत लिनको लागी धाधली गरेको उनले बताए । साथै उनले सदस्यता वितरणमा केही पुराना काँग्रेसीहरुलाई अन्याय भएको समेत बताए । उनले भने, ‘तपाई हामीले नै हो हाम्रो संस्कृति सम्पदा बचाउने हो । विकास निमार्णका काममा हाम्रा संस्कृतिहरु मस्न हुँदैन । हाम्रो संस्कृतिलाई जोगाउन सबै लाग्नुपर्दछ ।’
पार्टीभित्रको बेथीती र विकृत अन्त्यका लागी नयाँ पुस्ता आउनु पर्ने उनको धारण थियो ।विधि र पद्धतीको पालना गर्नु पर्छ भन्ने पार्टीले नै विधीको शाशन मान्न छोेड्यो भने जनताले विश्वास नगर्ने उनले टिप्पणी गरे ।देशमा लोकतन्त्र जोगाउनको लागी पनि काँग्रेस भित्र विधिपद्धती जोगाउन आवश्यक रहेको उनको भनाई थियो ।
‘देशमा लोकतन्त्र जोगाउनको लागी पनि काँग्रेसमा विधि पद्धती जोगाउन जरुरी छ । सक्षम प्रभावकारी पार्टीको रुपमा स्थापना पनि पहिले पार्टी भित्र विधिपद्धतीको स्थापना गर्नुपर्दछ ।’उनले थपे, ‘त्यसो गर्न नसके प्रजापरिषद्को बाटोमा नेपाली काँग्रेस जान्छ ।’
त्यस्तै, नेता सिंहले आगामी महाधिबेशनमा पार्टी सभापतिको उम्मेद्वार बन्न आफु तयार रहेको बताए । पार्टीलाई वडा देखि केन्द्रसम्म शक्तिशाली बनाउन र लोकतन्त्र जोगाउनको लागी आफु सभापति बन्नु पर्ने उनको तर्क थियो । पार्टीको तल्लो तह देखि नै संघर्ष गर्दै आएकाले सबैको दुख र संघर्ष बुझ्ने क्षमता भएको आफु एक्लो नेता भएको उनको दाबी थियो ।
‘जनताको नजरबाट गिरिसकेका नेतालाई अगाडी राखेर जतिसक्दो राम्रो काम गरेपनि जनताले पताउँदैनन् ।’ उनले भने ‘लोकतन्त्र जोगाउनको लागी नेतृत्व परिवर्तन आवश्यक छ । विधि र पद्धती जोगाउनको लागी पनि नेतृत्व परिवर्तन आवश्यक छ ।’
आफुलाई विगतमा पनि चुनाव लड्छु भन्दा कसैले नपत्ताएको तर पछि भोट गणना गर्दा क्षमता देखेको उनले स्मरण गराए । काठमाडौंका नागरिकले प्रकाशमानले हेर्दै हेर्दैन भन्ने बाहिरी जनताले यो त काठमाडौंको मात्र हो भन्ने गरेको उनले गुनासो व्यक्त गरे ।
उनले आफु देशका ७७ जिल्लामा नै पुगेको र सबै जनताको दुख बुझेको बताए । आफुले देशका सवै क्षेत्रका जनताको सेवा गरिरहेको र गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । सबै क्षेत्रका जनता र पार्टी कार्यकर्ताको सभापतिको उम्मेदवार आफु मात्र भएको उनले बताए । पार्टीलाई विधि सम्वत तरिकाले अगाडी बढाउनको लागी नेता कार्यकर्ताहरुले आफुलाई साथ दिनु पर्ने उनको भनाई थियो ।
फरक प्रसङ्गमा नेता सिंहले ओली सरकारले न्यायापालिकालाई हस्तक्षेप गर्दा न्यायालयमा अहिलेको अबस्था सिर्जना भएको दाबी गरे । उनले अदालत लगायतका निकायमा राजनीतिक नियुक्त, संविधानको भावना विपरीत काम गर्दा समस्या उत्पन्न भएको जिकिर समेत गरे ।