Logo

‘पत्रकारलाई सम्बोधन गर्ने गरी कार्यक्रम ल्याउँछौं’



चितवन, १४ कात्तिक: वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले कोभिडबाट प्रभावित भएका सञ्चार माध्यम र पत्रकारलाई सरकारले सम्बोधन गर्नेगरी कार्यक्रम ल्याउने बताएका छन् । नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशको प्रथम प्रादेशिक सम्मेलनको आज समापन गर्दै उनले के गर्न सकिन्छ भन्ने विषयमा प्रदेश सरकारले छलफल गरेर टुङ्गोमा पुगिने बताएका हुन् ।

कोरोनाबाट सञ्चार माध्यम र पत्रकार प्रभावित भएको आफूहरुलाई स्पष्ट रुपमा जानकारी भएको उल्लेख गर्दै उनले छिटो सरोकारवालासँग छलफल गरिने बताए । सो अवसरमा मन्त्री खनालले आमसञ्चार प्रतिष्ठान चितवनमा निर्माण गर्नका लागि आवश्यक पहलकदमी गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, “चितवन देशकै मध्यभागमा पर्ने भएकाले यहाँबाट देशभरका पत्रकारले लाभ लिन सक्छन् ।” आफ्नो मन्त्रालयले विभिन्न क्षेत्र हेर्ने भए पनि आफू मन्त्री भएलगत्तै पहिलो निर्णय पत्रकारसँग सम्बन्धित कार्यविधिमा हस्ताक्षर गरेको बताए ।

कार्यक्रममा महासङ्घका वाग्मती प्रदेश अध्यक्ष शिव देवकोटाले यसअघि प्रदेश सरकारले निर्णय गरेको सञ्चार क्षेत्र विरोधी निर्णयको खारेजीको माग गर्दै सञ्चारमैत्री कानून निर्माण गर्न अनुरोध गरे । उनले भने, “प्रदेश सरकारले आफैले सञ्चारमाध्यम सञ्चालन गर्न पर्दैन, सरकारका सकारात्मक कामको निजी सञ्चार माध्यमले गर्दछन् ।”

कार्यक्रममा महासङ्घका प्रदेश उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारुमगर, सचिव युवराज पुरी, रामेछाप शाखाका अध्यक्ष बद्री नयाँघरे, नुवाकोट शाखाका अध्यक्ष कपिलदेव खनाल लगायतले बोलेका थिए । शनिबार वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सम्मेलनको उद्घाटन गरेका थिए । सम्मेलनमा उपत्यकाका तीन जिल्लाबाहेकका १० जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको सहभागिता रहेको थियो ।-रासस



प्रतिक्रिया दिनुहोस्