Logo

ओलीले ज्ञानेन्द्रका मान्छेहरुलाई भेटेर मौका आए गणतन्त्र उल्ट्याउने भनेको मसँग सूचना छ : प्रचण्ड (भिडिओसहित)



काठमाडौं, १५ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहका केही मान्छेहरुलाई भेटेर गणतन्त्र मन नपरेको बताएको आफूसँग सूचना रहेको खुलाएका छन् । उनले भने,‘केपी ओलीले सधैं भन्थे–मलाई यो संघीय लोकतान्त्रिक गणतन्त्र पनि मन परेको छैन, समावेशी भनेर यो दलित, महिलालाई कोटा छुट्याएको पनि मन परेको छैन्, अस्ति त भनेछन् ज्ञानेन्द्रका केही मान्छेहरुसँग भेटेर भने अरे भन्ने सूचना मैले पाएँ, मलाई जिन्दगीभरि यो गणतन्त्र मनै परेको होईन, बाध्य भएर गरेको हो, त्यसकारण मौका आउने हो भने यो उल्ट्याउने भनेछन् । तपाईँहरुले विचार गर्नुहोला, स्थिति कहाँ पुगेको रहेछ भनेर ।’ विभिन्न चाडपर्वका अवशरमा काठमाडौंको किर्तिपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

आफ्नो पार्टीले लिएको विचार र कार्यक्रमका कारण फेरी माओवादीमाथि आकर्षण बढिरहेको बताएका छन् । उनले भने,‘अहिले पनि नीति, नेता, कार्यक्रम र जनता माओवादीसँगै रहेका छन् । हामीले राम्रो काम गरेर पनि जनतालाई माओवादीले बुझाउन नसकेको हो ।’ उनले माओवादी प्रतिक्रियावादीको दयाले यहाँसम्म आइपुगेको नभई जनताले साथ दिएर अहिलेको अवस्थामा आएको बताए । उनले नेता लेनिनको भनाई दोहोर्याउँदै भने,‘कम्युनिष्टहरुले परसम्म जाने सपना देख्छन् । त्यसकारण सपना देख्नु जायज हो ।’ अध्यक्षले राम्रो सपना देखेर सपना पुरा गर्नको निम्ति संघर्ष गर्नु कम्युनिष्टहरुको चरित्र र विशेषता भएको बताए। उनले भने,‘हामीले धेरै सपना देख्यौं । जनयुद्ध, शान्ति प्रक्रिया, संविधान गणतन्त्र यी सबै हामीले सपना देखेर पुरा भएका हुन् ।’ दाहालले आफूहरुले संविधानमा मतभेद राखेरै भएपनि जारी गरेको स्मरण गर्दै अनुकुल समयमा संविधान संशोधन गरेर जाने बताए ।

उनले भने,‘हामीले त कम्युनिष्टहरु जति सबैलाई एकतावद्ध गर्ने एउटा शक्तिशाली पार्टी बनाउने, त्यो पार्टीलाई सही दिशा र विचारमा लिएर जाने र सामाजिक न्यायसहित आर्थिक विकास र समृद्धिको एउटा नयाँ समाजवादी अर्थतन्त्र, राजनीति र संस्कृतिको जग बसाउने भन्ने सपना देखेको हो ।’ उनले यस्तो सपना देख्नु नराम्रो नभएको बताए । त्यो सपना जायज भएको कार्यकर्ता र जनतामा आएको उर्जाले प्रमाणित गरेको अध्यक्षको भनाई थियो ।

एक अर्का प्रसंगमा उनले भने,‘अहिले फेरि माओवादी र अझ मधेशमा माओवादी प्रवेश गर्नेहरुको हजारौं हजारको लहर देखिन थालेको छ । पार्टीमा उभार आउन अझै बाँकी रहेको छ ।’ पार्टीमा उभार ल्याउनको लागि जनता कार्यकर्ता जाग्नुपर्ने उनको भनाई छ । अहिले पनि नीति, नेता, कार्यक्रम र जनता माओवादीसँगै रहेको उनको भनाई थियो । भूमिहीन स्ववासीलाई लालपूर्जा दिने काम कीर्तिपुरबाट सुरु गर्न सम्बन्धीत मन्त्रीलाई आवश्यक सुझाव दिएको अध्यक्ष प्रचण्डले बताए।



प्रतिक्रिया दिनुहोस्

Screenshot