गलकोट, १५ कात्तिक: गण्डकी प्रदेश सरकारका वन वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापाले यसअघिको सरकारले गरेका राम्रा योजनालाई प्राथमिकता दिएर अगाडि बढ्ने बताएका छन् ।
प्रेस सेन्टर बागलुङ शाखाले आज बागलुङ बजारमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारले ल्याएका वन, वातावरण तथा भू–संरक्षणका राम्रा योजनालाई अगाडि बढाउने, असफल भएका योजनाको समीक्षा गर्ने र केही नयाँ योजना लागू गर्ने बताएका हुन् ।
“अघिल्लो सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिन्छु असफल योजनाको कारण खोतल्छु र नयाँ योजना लागू गर्ने योजनामा छु”, मन्त्री थापाले भने, “अहिले नयाँ योजना लागू गर्नुपूर्व जनताको माग र भावनालाई स्थलगतरुपमा नै समावेश गर्न जिल्ला भ्रमणमा निस्केको छु ।”
तीन दिने जिल्ला भ्रमणमा आएका उनले जिल्लाको थामानेटा, गलकोट, ढोरपाटन क्षेत्रलगायतको अवलोकन तथा जनतासँग भेटघाट गरेका थिए । मन्त्री थापाले स्थलगतरुपमा सबै जिल्लाको भ्रमण सकेपछि मात्रै योजना कार्यान्वयनमा लैजाने बताए ।
कृषि र धर्मलाई जोडेर पर्यटन क्षेत्रको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको छ भन्दै उनले अघिल्लो सरकारले थालनी गरेको मुस्ताङमा कस्तुरी प्रजनन केन्द्र अघि बढाइनेसमेत जानकारी दिए ।-रासस/File photo