काठडमाडौं, १५ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले कुनै पार्टी वा व्यक्ति विशेषलाई टार्गेट गरेर आफ्नो पार्टीको १०औं राष्ट्रिय महाधिवेशन चितवनमा आयोजना गर्न लागिएको भन्ने आरोपममा सत्यता नभएको बताएका छन् । आज (सोमबार) बिहान भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता पाण्डेले यस्तो बताएका हुन् ।
यसअघि नेकपा (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई टार्गेट गरेर चितवनमा खासगरी आफ्नो क्षेत्रमा एमालेले महाधिवेशन गर्न लागेको भन्ने अभिव्यक्ति दिएका थिए । दाहालको यस्तो अभिव्यक्ति आएपछि नेता पाण्डेले यस्तो खण्डन गरेका हुन् ।
उनले भने,‘‘विधान महाधिवेशनमै हामीले चितवनमा गर्नेबारे छलफल गरेका थियौं । तर ठाउँको उपलब्धताको ग्यारेन्टी नभएको हुनाले निश्चित गर्न सकिएन । त्यतिबेला अध्यक्षले बुटवल घोषणा गर्दा पनि अन्य सम्भावना कायमै रहने भन्नुभएको थियो, पछि सबै कोणबाट छलफल गर्दा चितवन नै पायक पर्ने देखियो । कुनै पार्टी वा व्यक्तिलाई टार्गेट गरेर आएको हाइन । उहाँहरुको मन डराएको हो, डराएको मनको अभिव्यक्ति हो ।’ file photo