Logo

‘हामी अहिले सरकारमा छैनौं, तर हामीमाथि जनताको ठुलो साथ छ’ : प्रदीप ज्ञवाली



नेकपा (एमाले) का प्रवक्ता तथा सचिव प्रदीपकुमार ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीले लिएको नीतिको कारण केन्द्रदेखि प्रदेशसम्म एमालेको सरकार ढलेको भन्नेमा कुनै सत्यता नभएको बताएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै ज्ञवालीले यस्तो बताएका हुन् । प्रस्तुत छ नेता ज्ञवालीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

केन्द्र र प्रदेशमा नेकपा (एमाले) को उपस्थिति शून्य भएको छ, यसको कारण के हो ?

यसको मुख्य कारण नेकपाको विभाजन र नेकपा (एमाले) बाट केही साथीहरुको बहिर्गमन हो । तपाईंलाई थाहा छ–गत निर्वाचनमा हामी सबैभन्दा ठुलो दलको रुपमा सफलता हाँसिल गरेका थियौं । तर, एकल बहुमत हाम्रो कहीँपनि थिएन् । त्यो स्थितिभित्र नेकपा माओवादीसँग गरिएको एकीकरण भंग भइसकेपछि र माधव नेपाललगायतका साथीहरु बाहिरिएपछि हाम्रो संख्या कम हुनु स्वभाविक थियो । त्यसो हुनाले अहिले आइरहेको परीणाम अस्वभाविक हो भन्ने मलाई लाग्दैन् ।

पार्टी नफुटेको भए १ नम्बर र बाग्मती प्रदेशमा नेकपा (एमाले) कै सरकार हुनेथियो, तर त्यसो हुन नसकेपछि दुबै प्रदेशमा हात धुन पर्यो होइन् ?

यसको कारण यही हो कि आफ्नो घरमा आगो लगाएर खरानी बेच्न हिँड्ने केही साथीहरु निस्किनुभयो । नेकपा (एमाले) लाई विस्थापित् गरेर र सरकारबाट बाहिर पारेर आफ्ना नितान्त निजी स्वार्थहरुका निम्ति जुन ढंगको एउटा अवसरवाद र विभाजनकारी प्रवृति पार्टीभित्र देखापर्यो । त्यसैको परीणाम यो हो । माथि केन्द्रमा उहाँहरुले नेकपा (एमाले)को सरकारलाई गिराएर नेपाली काँग्रेसको सरकार बनाउनको निम्ति उहाँहरुले आफ्नो ३०औं वर्षको इतिहासलाई ध्वस्त पार्नुभयो । उहाँहरुले अत्यन्त छुद्रखालको खेल खेल्नुभयो । त्यसको पुरस्कारस्वरुप उहाँहरुले केही महिनाको लागि मुख्यमन्त्रीको पद प्राप्त गर्नुभएको छ । राजनीतिमा यति ठुलो धोका दिएपछि पद पाउनु सामान्य विषय हो जस्तो लाग्छ । मुलुक र कम्युनिष्ट अन्दोलनलाई कमजोर बनाउने जुन प्रवृति कम्युनिष्ट आन्दोलनभित्र देखापर्यो अहिलेको घटनाहरु त्यसैको परीणाम हो ।

नेकपा (एमाले) यो अवस्थामा पुग्नुको कारण केपी शर्मा ओलीको गलत नीति होइन् ?

होइन्, त्यो एकदम गलत कुरा हो । यो लगाइएको आरोपमात्र हो । उहाँको नेतृत्वमा हाम्रो पार्टीले निर्वाचनमा शानदार सफलता हाँसिल गर्यो । त्यो सफलतासँगै हामीले सरकार चलाउन सुरु गर्यौ । संघीयताको पहिलो अभ्यास भएको हुनाले तल्लो तहमा पनि साथीहरुले असाध्य राम्रोसँग प्रदेशका संरचनाहरु निर्माण गर्नेलगायतका कामहरु गर्दै जानुभएको थियो । ती सरकारहरुको कारणले गर्दा जनतामा संघीयताको अनुभूति हुँदै गइरहेको थियो । अब अहिलेको घट्नाक्रमले के भएको छ भने केन्द्रमा २५ जनाको मन्त्रीपरिषद हुन्छ । तर, प्रदेशमा कतिपय साथीहरुले आफ्नो स्वार्थका निम्ति १७/१८ जनासम्मको मन्त्रिपरिषद बनाउदै हुनुहुन्छ । जुन कुरा संघीयताको उपहास हो । यस्तो कारणले गर्दा मान्छेहरुमा विस्तारै संघीयताप्रति नकारात्मक धारणा बनिरहेको छ । कमसेकम पहिलो सरकारलाई पुर्ण अवधि काम गर्न दिएको भए संघीयताका जगहरु बलिया हुने थिए । भोलि आउने सरकारहरुलाई पनि काम गर्नका लागि आधार सिर्जना गर्ने थियो । तर, नेपालमा राजनीतिक स्थिरता हुन नदिने र कुनै पनि संस्थालाई बलियो बनाउन नदिने प्रवृतिको यो एउटा प्रकट रुप हो ।

तर, केपी शर्मा ओलीले पाएको जनमतलाई सम्मान गर्नसक्नुभएन, पार्टीको विवाद पनि मिलाउन सक्नुभएन नि होइन् ?

यो कुरा गलत हो । नेकपा (एमाले) को पार्टी एकता जोगाउनका निम्ति केपी शर्मा ओलीले के मात्र गर्नुभएन ? गएको चैतका निम्ति प्रस्तावित पार्टीको एकता महाधिवेशनमा उहाँले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एकल अध्यक्ष बनाउनका निम्ति प्रस्तावसमेत गर्नुभएको थियो । उहाँहरुको बिचमा लिखित रूपमै सहमति भएको थियो । साथै, उहाँले सार्वजनिक रुपमै भन्नुभएको थियो म आउने महाधिवेशनपछि पार्टीको अध्यक्ष रहन्नँ । पार्टी एकताका निम्ति उहाँले त्यो हदसम्मको घोषणा गर्नुभएको थियो । साथै, म फेरी प्रधानमन्त्रीको उम्मेद्धवार बन्दैन् भनेर पनि उहाँले घोषणा गर्नुभएको थियो । नेपालको राजनीतिमा आजीवन पदमा टाँसिइरहने प्रवृत्ति रहेका बेला एक जना लोकप्रिय नेताले एउटा अबधिपछि विदा हुन्छु भन्ने कुरा आँफंैमा एउटा पद्दती बसाल्ने हिसाबले दुरगामी महत्वको कुरा थियो । तर, गत चैत्रमै हुनुपर्ने एकता महाधिवेशनका लागि चार महिनासम्म नकुर्ने प्रचण्ड र सत्ताबिना एक मिनेटपनि बाहिर बस्न नसक्ने साथीहरुको कारणले गर्दा यो अवस्था आएको हो । माधवकुमार नेपालकै हकमा भन्नुहुन्छ भने उहाँले सार्वजनिक रुपमै भन्नुभएको थियो । हुन त उहाँ ९औं महाधिवेशनमा पराजित मान्छे हो । तर, पनि पार्टी एकताको लागि म उहाँलाई अर्को अध्यक्ष बनाएर जान तयार छु भन्नुभएको हो । यो भन्दा अरु के गर्न पथ्र्यो ?

केपी शर्मा ओलीलाई पार्टी फुटेकोमा र सत्ताच्युत भएकोमा केहि पछुतो देखिँदैन नि ?

कुरा यस्तो हो-यदि हामी जनमतबाट सत्ताच्युत हुन परेको भए चिन्तित हुने थियौं । जनताबाट आलोचित भएको भए त्यसो हुन्थ्यो होला । तर, यहाँ त नेपालमा राजनीतिक स्थिरता हुनै नदिने जुन चक्रव्युह छ, नेपाली राजनीतिमा जसको शिकार हिजो २०१७ सालमा विपी कोइराला हुनुभयो । पछि नेपाली काँग्रेसले पनि त्यस्तो अवस्थाको सामना गर्नपरेको थियो । त्यसैले, यस्ता कारणले गर्दा हामी सरकारबाट बाहिरिन परेको हो । हामिले यस्ता कामहरु गर्दै छौं । त्यसकारणले हामीलाई साथ समर्थन दिनुहोस भनेर जाने कुरा स्वभाविक कुरा हो । हामी अहिले सरकारमा छैनौं । तर, पनि हामी माथि जनताको ठुलो साथ रहेको छ ।

नेकपा (एमाले) निर्वाचनमा जान खोजिरहेको छ, सरकारमा नभएको समयमा निर्वाचनमा जाँदा घाटा हुँदैन ?

नेकपा (एमाले) ले जहिले–जहिले निर्वाचनमा सफलता प्राप्त गरेको छ, हामी सधैं प्रतिपक्ष रहेका थियौं । त्यसकारणले सत्तामा बसेर उसले निर्वाचन गर्न चाहन्छ जसलाई सत्ताको दुरुपयोग गर्नुछ । त्यसैले जनताको मन जितेका पार्टीलाई यसले केही पनि फरक पार्दैन् ।

तर, यो विभाजनबाट केपी शर्मा ओलीले पाठ सिक्नु पर्दैन् ?

अवश्य, त्यहीभएर त हामीले भनिरहेका छौं । वास्तवमा हिजो हामीले जुन ढंगले पार्टी एकता र सञ्चालन गरेका थियौं । पार्टी एकता हामीले माथि टाउको जोडेर गरेछौं । वास्तवमा तलदेखि नै छलफल गर्दै आएको भए माथि प्रचण्डले पार्टी फुटाउन लाग्दा तलबाट रोक्ने अवस्था आउने थियो होला । त्यसकारणले हामीले सिकेको पहिलो पाठ भनेको के हो भन्दा–पार्टी एकता टाउको जोडेर होइन् तल्लो तहबाट छलफल गरेरमात्र गर्नुपर्दो रहेछ । त्यस्तै, पार्टीभित्र अन्तरबिरोधहरु हुन्छन् । एकदम क्षणिक स्वार्थका लागि पार्टीलाई समाप्त गर्न खोज्ने पात्रलाई अनावश्यक प्रोत्साहन दिनुहुँदो रहेनछ । यो पनि हामीले सिकेको पाठ हो । साथै, अन्य विभिन्न पाठ हामीले सिकेका छौं ।

प्रचण्डले नेपालका सबै कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध बनाएर सशक्त रुपमा गठबन्धन गरेर निर्वाचनमा नेकपा (एमाले) लाई हराउँछु भन्नुभएको छ, यस विषयमा के भन्नुहुन्छ ?

बिहान–बिहान हसाँउनुभयो, एकदक रमाइलो लाग्यो । जसले आफ्ना गुरु मोहन वैद्यलाई टिकाउन सक्नुभएन । जसले आफ्ना सहकर्मी बाबुराम भट्टराई, प्रतिभावान नेत्रविक्रम चन्द ‘विप्लव’लाई टिकाउन सक्नुभएन । आफ्ना सहयोद्धा रामबहादुर थापा ‘बादल’ लाई टिकाउन सक्नुभएन् । अनि उहाँले नै बृहत्त कम्युनिष्ट पार्टी एकता भन्दा हाँसो लाग्छ । उहाँमा यतिबेला निकै छट्पटाहट् देखिन्छ । उहाँको बोलीमा निकै असन्तुलन छ । अस्ति उहाँले जनता समाजवादी पार्टीसँग एकता गरिहालौं भन्नुभयो । अनि जसपाका नेताहरुले दिनुभएको अभिव्यक्ति तपाईंहरुले सुन्नुभएको होला । उहाँहरुले उडाईदिनुभयो । उहाँहरुले तपाईंहरुसँग हाम्रो विचार मिल्दैन भन्नुभयो । यो ढंगको स्थिति हो । त्यसकारणले उहाँको नेतृत्वमा पार्टी एकता त हाँस्यास्पद कुरा हो ।

उसोभए नेपालका कम्युनिष्टहरुलाई प्रचण्डले एकताबद्ध बनाउन सक्नुहुँदैन ?

सक्नुहुँदैन, उहाँ आँफैले थप साथीहरुलाई पनि रोक्न सक्नुहुँदैन् । तपाईंहरुले निकट भविष्यमा देख्नुहुन्छ कि उहाँकै पार्टीबाट केही साथीहरु निकट भविष्यमा बाहिरिनुहुन्छ । खासगरेर तल्लो तहका नेता÷कार्यकर्ताहरु ।

भनेपछि माओवादीका कार्यकर्ताहरु नेकपा (एमाले) मा आउँदैछन् ?

हो, हाम्रो पार्टीमा आउँदैछन् ।

तपाईंहरुले माओवादी केन्द्रलाई सिध्याउने रणनीति बनाउँदै हुनुहुन्छ, हो ?

होइन्, सिध्याउने कुरा नै भएन नि । बहुदलीय व्यवस्था हो, कुनैपनि पार्टी र नेतृत्वमाथि विश्वास भएन भने अर्को बाटो खोज्न पाइन्छ । कसैलाई सिध्याउने र कसैलाई प्रोत्साहन गर्ने भन्ने होइन् । तर, माओवादीभित्र अहिले जबरजस्त उठिरहेको एउटा कुरा अहिले यही हो कि हिजो उहाँहरुले त्यति ठुलो सपना देखाउनुभयो । १७ हजार मान्छेको ज्यान गयो । युद्धमा हजारौं युवाहरु होमिए । तर, आज ती युवाहरुको सपना कहाँ पुग्यो ? ति सपनालाई सार्थक बनाउनका निम्ति उहाँले के भुमिका खेल्नुभयो ?

file photo/ReportersNepal

थप भिडिओमा सुनौं



प्रतिक्रिया दिनुहोस्

Screenshot