Logo

पुल नबन्दा आवागमनमा समस्या



राजविराज, १७ कात्तिक । दुई साताअघि आएको बाढीले बेल्ही–मल्हनिया सडक खण्डको पक्की पुल भत्काएपछि अहिले आवतजावतमा समस्या हुने गरेको छ ।

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाअन्तर्गत बेल्ही–मल्हनिया सडक खण्ड जोड्ने जीर्ण भइसकेको पुल बाढीले भत्काएपछि पूर्ण रुपले आवागमन ठप्प भएको हो ।

यही कात्तिक १ गतेदेखि तीन दिनसम्म भएको अविरल वर्षाका कारण आएको बाढीले उक्त पुल र सडकको लगभग १५ मिटर भाग नै बगाएको छ । जीर्ण भइसकेको पुलबाट जोखिम मोलेर आवतजावत गरिरहँदा अहिले पुलसहित बाटो समयमा नबनाइएका कारण पैदलयात्रुलाई निकै सास्ती व्यहोर्नु परिरहेको छ ।

अहिले पानी सुकिसकेको भएपनि सडक विभागले कुनै चासो नदिँदा आवागमन ठप्पै रहेको स्थानीयवासी नीरज झाले बताए । तिलाठी कोइलाडी गाउँपालिकाको बेल्हीस्थित राजविराज भन्सार कार्यालय हुँदै मल्हनिया र हनुमाननगर बजार जोड्ने उक्त पुल भत्किएपछि यातायात पूर्ण रुपले ठप्प हुनुका साथै पैदल आवतजावत गर्नेलाई निकै समस्या भइरहेको उनले बताए ।

बाटो अवरुद्ध भएपछि पाँच/छ किलोमिटरको दूरीमा रहेको हनुमाननगर बजार जानका लागि वैकल्पिक मार्गका रुपमा राजविराज हुँदै २५ किलोमिटरको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको अटो रिक्सा चालक रामसागर साहले गुनासो गरे ।

यता स्थानीयवासीले भत्केको पुल र सडक चाँडो निर्माण गरेर आवागमन सूचारु गरी सहज बनाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्