राजविराज, १७ कात्तिक । लक्ष्मी पूजा अर्थात दिपावली पर्वको अवसर पारेर राजविराजको हटिया बजारमा माटोको दियोसहितको सरसामान किन्नेको घुइँचो लागेको छ । हिजोआज बजारमा माटोको भाँडादेखि लक्ष्मी पूजाका लागि विभिन्न सरसामान किन्नेको चहलपहल बढेको देखिन्छ ।
माटोको भाँडा खासगरी कुमाल जातिले बनाउने गर्छन्, माटोको मूर्ति, पाला, अति नै शुद्ध हुने भएकाले यसको बिक्रीबितरणमा वृद्धि भएको हनुमाननगरका कुमाल रामकुमार पण्डितले बताए। प्रायःजसो पूजापाठमा माटोद्वारा निर्मित सामान प्रयोग गरिँदै आइरहेका हुनाले माटोको भाँडो लक्ष्मी पूजामा प्रयोग गर्नेको सङ्ख्या यतिखेर बढ्ने गरेको उनले बताए ।
चाडपर्व नजिकिँदै गर्दा ठाउँठाउँमा माटोको भाँडा, फलफुल, विभिन्न मूर्ति र माटोको भाँडामा ढकनी, दीप, घैँलोलगायतका खरिदबिक्री भइरहेको व्यापारी बताउँछन् । जिल्लाको भारदह, कञ्चनपुर, हनुमाननगर, रुपनी, बोदेबरसाइनलगायतका विभिन्न ग्रामीण बजारमा पनि सुनदेखि नूनसम्मको सामान किनमेल भइरहेका छन् ।