Logo

ट्रायल पास वर्ष दिनअघि, हातमा छैनन् लाइसेन्स



काठमाडौं, कार्तिक १८। सरकारी ढिलासुस्ती र बेवास्ताका कारण सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले एक वर्ष बित्दासमेत लाइसेन्स पाउन सकेका छैनन् । सवारी लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका ७ लाख सेवाग्राहीले एक वर्ष बित्दासमेत स्मार्ट लाइसेन्स पाउन नसकेका हुन् ।

यसअघि, ठूलो मात्रामा स्मार्ट लाइसेन्स छपाइ हुन बाँकी रहेकाले दुई वर्षसम्म सेवाग्राहीले स्मार्ट लाइसेन्स पाएका थिएनन् । कोभिड–१९ कारण परीक्षा नहुँदा संख्या नथपिएसँगै पुराना लाइसेन्सको छपाइसमेत सकिने अवस्थामा पुगे पनि पुनः लाइसेन्स छपाइको काम थुप्रिन पुगेको छ । यातायात व्यवस्था विभागले कोभिडलगायतका कारण कार्ड खरिद गर्न नसकेको वहाना बनाएर गत वर्षको भदौदेखि स्मार्ट लाइसेन्स वितरण बन्द गरेको छ ।

विभागले हालसम्म पनि स्मार्ट लाइसेन्स वितरण गर्न सकेको छैन । विभागले स्मार्ट लाइसेन्स आउन अझै दुई महिनासम्म लाग्ने जनाएको छ । विभागले यसअघि पनि स्मार्ट लाइसेन्स ल्याउने प्रक्रियामा रहेको भन्दै चाँडै आउने बताउँदै आएको छ । विभागले हाल लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका सवारी चालकलाई अस्थायी परीक्षणकालीन लाइसेन्स वितरण गर्दै आएको छ ।

विभागले प्रदान गर्ने चिटका आधारमा सेवाग्राही निर्भर भर पर्दै आउनुपरेको छ । १४ लाख कार्ड ल्याउने तयारी विभागले १४ लाख चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाइका लागि आवश्यक कार्ड ल्याउन लागेको छ । सरकारले डेढ वर्ष पहिले ठेक्का सम्झौता गरेकोमा अहिले कार्ड ल्याउन लागेको हो ।

यसअघि, दुई वर्ष पहिले खरिद गरेको ‘मास प्रिन्टर’मा छपाइ गर्न कार्ड नमिलेपछि समस्या उत्पन्न भएको थियो । ‘मास प्रिन्टर’ एउटा कम्पनीबाट र कार्ड अर्को कम्पनीबाट खरिद गर्दा समस्या आएको यातायात व्यवस्था विभागले जनाएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot