Logo

“इजलास खुला गराैं, प्रधानन्यायाधीश विवाद टुंगाे लगाउँ” : अध्यक्ष अधिकारी          



काठमाडौं, कात्तिक १८ । डेमाक्रेटिक लयर्स एसाेसिएसनका अध्यक्ष याेगेन्द्रबहादुर अधिकारीले लामाे समय सर्वाेच्च अदालतका कामकारबाही ठप्प हुँदा नागरिकका संविधानप्रदत्त अधिकार कुण्ठित भएकाले इजलास खुला गर्नुपर्ने बताएका छन् । आज नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अधिकारीले भने, “न्यायालयलाई सक्षम, पारदर्शी र स्वतन्त्र बनाउनुपर्छ, यसमा रहेका विकृति, विसंगति, भ्रष्टाचार अन्त्य गर्नुपर्छ भन्नेमा कुनै विवाद छैन । तर लामाे समय सर्वाेच्च अदालतका कामकारबाही ठप्प हुँदा नागरिकका संविधानप्रदत्त अधिकार कुण्ठित भएकाले इजलास खुला गर्नुपर्छ ।”

डेमाक्रेटिक लयर्स एसाेसिएसनले हिजाेकाे विज्ञप्तिमा प्रधानन्याधीश चाेलेन्द्रशमशेर राणाकाे कुनै बचाउ नगरेकाे दाबी गर्दै उनले त्याे प्रकरणलाई चाँडै टुंगाे लगाउनुपर्ने बताए । उनले भने, “थुनामा रहेका बन्दीकाे समस्या हेराैं, काेभिडका कारण बैंकबाट घरजग्गा लिलामीमा परेका जनताकाे  समस्या बुझाैं, गरिब निमुखाले न्याय नपाउने स्थिति अन्त्य गराैं ।”

बारकाे आन्दाेलनमा आफ्नाे समर्थन रहेकाे उनले स्पष्ट पारे । सत्ता गठबन्धन र विपक्षले न्यायालय विवादमा गम्भीरता नदेखाएकाे उनकाे आराेप छ । उनले थपे, “सबै दलहरू सुतेर बसेका छन् । सरकारले कुनै छलफल गरेकाे छैन । दलहरूले आफ्नाे मान्छे नियुक्ति गर्न भागबन्डा खाेजे । अदालतलाई बलियाे बनाउनेबारे साेचेनन् ।” अध्यक्ष अधिकारीले संवैधानिक इजलासका पाँच न्यायाधीशकाे राजीनामा मागिनु राजनीतिक पूर्वाग्रह मात्र भएकाे दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्