Logo

वाइडेन र मोदीलाई भेटेपछि देउवा किन उत्साही



काठमाडौं, १९ कात्तिक । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्साही देखिएका छन् । उनी बेलायतबाट फर्किएपछि उत्साहपूर्वक बोल्न थालेका छन् । देउवाले केही महत्वपूर्ण खुलासाहरु पनि गरेका छन् ।

राष्ट्रसंघको आयोजनामा भएको जलवायु परिवर्तनसम्बन्त्री विश्व सम्मेलनमा भाग लिन पुगेका देउवाले महत्वपूर्ण भेटवार्ता गरेका थिए । अमेरिकी राष्ट्रपति जो वाइडेनसँग देउवाको अनौपचारिक भेटवार्ता भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग औपचारिक र अनौपचारिक गरी दुईपटक भेटवार्ता गरे ।

देउवाले बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनसँग पनि भेटेका थिए । एमसीसीका उप कार्यकारी निर्देशकसँग पनि भेटे । यी भेटहरु देउवाका लागि निकै महत्वपूर्ण रहे ।

स्वदेश फर्किएपछि देउवाले एमसीसीबारे महत्वपूर्ण खुलासा गरे । एमसीसी पारित गर्न आफू र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्र नै पठाएको उल्लेख गरे । उनले एमसीसी पारित हुने ठोकुवा गर्दै यस्तो खुलासा बेलायतबाट फर्किएपछि गरेका हुन् ।

देउवाले आज नेपाल संवत्को अवसरमा आयोजित कार्यक्रममा बोल्दै मंसिरमै काँग्रेस महाधिवेशन हुने स्पष्ट पारे । यसअघि महाधिवेशन तोकिएको मितिमै हुने नहुनेबारे नबोलेका देउवा यसपटक बोलेका छन् । उनले काँग्रेसभित्र आफूलाई मजबुत पाएको र महाधिवेशन पनि गर्ने जमर्को गरेको बुझिएको छ ।

वाइडेन र मोदीसँगको भेटमा देउवाले महत्वपूर्ण कुराकानी गरेको र ढुक्क भएर फर्किएको बुझिएको छ । यसकारण पनि उनी महत्वपूर्ण मुद्दा र कार्यमा अगाडि बढ्न लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस्