Logo

देउवाले गरे शक्ति सञ्चय, सभापति जित्नेमा ढुक्क



काठमाडौं, १९ कात्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टी महाधिवेशन गर्न हच्किइरहेका थिए । यसकारण पनि पटक पटक काँग्रेस महाधिवेशन सर्न पुग्यो । अहिले देउवा मंसिरमा तोकिएको मितिमै महाधिवेशन गर्ने योजनामा दृढ भएका छन् । उनले महाधिवेशन तोकिएको मितिमै हुने अभिव्यक्ति पहिलोपटक दिएका छन् ।

देउवा महाधिवेशन पुनः निर्वाचित हुनेमा निश्चिन्त भएको बुझिएको छ । काँग्रेसभित्र आफूविरोधी समूह छिन्नभिन्न भएकाले मात्र पनि देउवा उत्साही भएका होइनन् । बाह्य सम्बन्ध पनि बलियो देखेपछि देउवा निकै उत्साही भएका हुन् ।

देउवालाई सभापतिमा चुनौती दिन लागेका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, सुजाता कोइरालालगायत विभाजित जस्तै छन् । पौडेललाई सभापतिको उम्मेदवार कुनै हालतमा नमान्ने प्रकाशमान सिंहले स्पष्ट पारिसकेका छन् । सशांक र शेखर आफै सभापतिको दाबेदार देखिएका छन् । सुजाताले पनि पौडेल समूह छाडेको घोषणा गरिसकेकी छिन् ।

विमलेन्द्र निधिले साथ छाडेपछि देउवा केही समस्यामा थिए । तर, इतर समूह छिन्नभिन्न हुनु र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नजिकिनुले देउवालाई हौसला मिलेको छ ।
देउवाले बेलायत भ्रमणबाट अमेरिकी राष्ट्रपति जो वाइडेन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनसँग भेटे । यी भेटहरु नै देउवालाई बाह्य शक्तिको साथ रहेको सन्देश बन्नपुग्यो । देउवा स्वदेश आएकै दिन एमसीसी पारित गर्न आफू र प्रचण्डले हस्ताक्षरसहित पत्र पठाएको खुलासा गर्न पुगे । देउवाले राजनीतिमा धेरै बाजी मारिसकेको संकेत पनि थियो त्यो ।

प्रमुख प्रतिपक्षी दलमा सिमित देउवा कम्युनिस्टहरुको विभाजनले शक्तिमा आएका थिए । उनको राजनीतिक चार्तुयताले नेकपा विभाजन भयो । त्यसपछि नेकपा एमाले पनि विभाजन भयो । देउवाले ओलीको कार्यकालमा भएका नियुक्तिहरु धमाधम खारेज गरिदिए । राजदूतहरु धमाधम नियुक्त गर्न थालेका छन् । यसरी उनले शक्ति सञ्चय गर्दै लगेका छन् ।

देउवाले आफूलाई कठिन घडीमा साथ दिने नेता कार्यकर्ताको संरक्षण गर्न थालेका छन् । उनीहरुलाई अवसर दिन थालेका छन् । विगतमा नेपाली काँग्रेस विभाजन गर्दा साथ दिएका बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्कालाई महत्वपूर्ण मन्त्रालय दिएका छन् । उमा रेग्मीले पनि मौका पाएकी छिन् । रोचक पक्ष यो छ कि काँग्रेसबाट मन्त्री भएकामा दिलेन्द्र बडुबाहेक सबै विगतमा देउवाले काँग्रेस प्रजातान्त्रिक बनाउँदा साथ दिएकाहरु नै छन् ।

कार्यकर्तालाई संरक्षण गर्न सक्ने क्षमता भएको नेताको परिचय दिन देउवा सफल हुँदै गएका छन् । यसकारण उनले पार्टीभित्र शक्ति सञ्चय गर्दै लगेका छन् ।

महाधिवेशनमा जाँदा देउवाले कम्युनिस्टहरुलाई कमजोर बनाउन सकेको, अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत बनाउन सकेको, काँग्रेसका नेता कार्यकर्तालाई अवसर सृजना गर्न सकेको विषयहरु उठाउन सक्ने भएका छन् । त्यसकारण पनि उनी महाधिवेशनमा जान आतुर देखिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्