बाँके, २१ कात्तिक । जिल्लाको डुडुवा गाउँपालिकाले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानअन्तर्गत ‘कन्या मुद्दति खाता’ खोलिदिए पछि अभिभावक खुशी भएका छन् । छात्राको पढाइलाई निरन्तरता दिन र उमेर नपुगी विवाह हुने प्रचलनलाई अन्त्य गर्न गाउँपालिकाले सो अभियान सुरुआत गरेको हो ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिका भित्रका विद्यालयमा अध्ययनरत सबै बालिकाको नाममा खाता खोलिदिने व्यवस्था मिलाएको जानकारी दिए। उनका अनुसार यस्ता बालिकाको बैँक खातामा रु १० हजार जम्मा गरिदिने र २० वर्ष नपुगी निकाल्न नपाउने व्यवस्था गरिएको छ ।
उनले भने “छोरीको पढाइ पूरा होस् र उमेर नपुगी विवाह पनि नहोस् भन्ने उद्देश्यले अभियान थालेका हौँ, छोरीले हरेक किसिमबाट असुरक्षित महसुस गर्नुपर्ने वातावरण अन्त्य गराउनु हाम्रो प्रमुख ध्येय हो ।”
गाउँपालिकाले अभिभावकको मृत्यु भएमा वा आफैँ कुनै कारणले अशक्त भए खाताको रकम निकाल्न पाउने गरी कार्यविधिसमेत बनाएको छ । यसबाट अभिभावक निकै उत्साहित भएका छन् । डुडुवाका छ वडाभित्रका सबै बालिकाका नाममा कन्या मुद्दति शिक्षा कार्यकम लागू गरिएको अध्यक्ष चौधरीले जानकारी दिए।
डुडुवामा कन्या मुद्दति खाता यसका लागि यस वर्ष रु ४० लाख छुट्याइएको छ । उक्त कार्यक्रममा समेटिन बालिका स्वास्थ्य सस्थामा जन्मिएको प्रमाणपत्र, जन्मदर्ता तथा वडा कार्यालयको सिफारिस हुनुपर्छ ।
बेटी बचाऊ, बेटी पढाऊँ नीति तथा कार्यक्रमअन्तर्गत पालिकाका सबै वडामा जन्मिने नवजात छोरीका नाममा कन्या मुद्दति खाता सञ्चालन गरिरहेको उहाँले जानकारी दिए। खातामा जम्मा भएको रकम उनी २० वर्ष पुगेर नागरिकताको प्रमाणपत्र प्राप्त गरेपछि उनैलाई हस्तान्तरण गरिदिने व्यवस्था कार्यविधिमा छ ।
अभिभावकको रोहबरमा स्थानीय सरकारले सबै छोरीको खाता खोलिदिने र नगद पनि जम्मा गरिदिने व्यवस्था गरेको छ । “बैंक खाता छोरीको शिक्षा र सुरक्षालाई ध्यान दिइ अभियान ल्याएका हौँ” गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले भने, “खासमा छोरीहरुको साक्षरतादर बढाउने र बालविवाह न्यूनीकरण गर्ने यसको उद्देश्य हो । यसका साथै अभिभावकको क्षति कम गर्न रु पाँच लाखको दुर्घटना बिमा पनि गराएका छौँ ।”
खाता खोल्दा सुरुमा अभिभावक आफैँले रकम जम्मा गर्नुपर्ने र गाउँपालिकाले रु पाँच हजार थपिदिने योजना बनाइएको थियो । कार्यक्रमका श्रोत व्यक्ति दिपेश चौधरीले भने, “धेरै अभिभावकको पैसा तिर्न सक्ने हैसियत नभएकाले २०७८ साउनदेखि भने पालिकाले नै रु १० हजार राखेर खाता खोलिदिने निर्णय ग¥यो ।”
गाउँपालिका शिक्षा अनि चेतनाको दृष्टिले पछाडि छ । छारीलाई पढाउन खासै चासो दिइन्नँ । अधिकांश छोरी घरको सानोतिनो काम र गाईवस्तु चराउनमै बिताउँछन् । धेरै अभिभावकले छोरीलाई विद्यालय नपठाउने गरेको शिक्षक गोपीचन्द्र बर्माले बताए। उनले भने, “कति त नाबालकमै विवाह गरेका कारण विद्यालय आउँदैनन्, पालिकाको योजना लागू भएसँगै छोरीको उच्च शिक्षा पढ्ने चाहने पूरा हुनेमा विश्वास बढेको छ ।” रासस