Logo

देउवा, प्रचण्ड र माधव नेपालसँग किन रिसाए नारायणकाजी ?



काठमाडौं, २१ कार्तिक । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठ गठबन्धनका शीर्ष नेताहरुसँग असन्तुष्ट बनेका छन् । खासगरी गठबन्धनको बैठकमा पछिल्लो समय आफूलाई नबोलाईएकोमा उनको असन्तुष्टि रहेको बुझिएको छ । सामाजिक सञ्जालमार्फत नै श्रेष्ठले गठबन्धनको बैठक अहिले शीर्ष नेताहरुको बैठकमा परिणत भएको उल्लेख गरेका छन् ।

संसद् पूनःस्थापना भएपछि र कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि बस्ने गरेका गठबन्धनको प्रायः सबै बैठकमा उनी सक्रियताका साथ सहभागी हुँदै आएका थिए । तर, पछिल्लो समय प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव मात्रै बसेर महत्वपूर्ण निर्णय गर्न थालेपछि नेता श्रेष्ठ असन्तुष्ट बनेका हुन् ।

उनले राजदूत नियुक्तीमा पनि आफ्नो असन्तुष्टि पोखेका छन् । उनले यसअघि जे/जस्तो भएपनि अब हुने राजदूत नियुक्तीमा कम्तिमा भागबण्डा हटाएर साझा सुची तयार पार्नुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री देउवा र आफ्नो पार्टीका अध्यक्ष प्रचण्डले एमसीसी पारित गर्नुपर्छ भनेर अमेरिकालाई चिठ्ठी लेखेको भनेर स्वयम प्रधानमन्त्री देउवाले खुलासा गरेपछि त्यसलाई चूनौति दिनेगरि नेपालको अहित हुनेगरि गलत प्रावधान नसच्याएसम्म एमसीसी पारित गर्न नहुने धारणा राखिसकेका छन् । र, यो नै माओवादी केन्द्रको आधिकारिक धारणा भएको पनि उनले उल्लेख गरेका छन् ।

नेता श्रेष्ठ पछिल्लो समय आफ्नै पार्टीका अध्यक्ष प्रचण्डसँग असन्तुष्ट बनेका छन् । उनी प्रचण्डसँग नियमित भेटवार्ता गरिरहने नेता हुन् । तर, पछिल्लो समय उनी दाहाललाई भेट्नसमेत जान छाडेको बुझिएको छ । यसअघि पार्टीले विभिन्न विभाग गठन गर्ने क्रममा श्रेष्ठलाई नसमेटी विदेश विभाग गठन गरेको थियो । त्यसमा पनि उनले व्यापक असन्तुष्टि राखेका थिए । पछि अध्यष दाहालले श्रेष्ठलाई नै विदेश विभाग प्रमुख राखेर विभाग गठन गरेका थिए । file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्