Logo

एमाले अधिवेशनः नेतृत्वमा महिला र दलित शून्य



बैतडी, कार्तिक २२ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ महाधिवेशनअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ।

छ गाउँपालिका र चार नगरपालिका रहेको जिल्लाका १० पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो तर कुनै पनि पालिकामा महिला र दलितले नेतृत्व पाउन सकेका छैनन्।यसका साथै जिल्लाका ८४ वडामा पुरुषले नै नेतृत्व सम्हालेका छन्।

दलित र महिलाको नेतृत्वप्रति अझै पनि शङ्का गर्ने प्रवृत्ति कायमै रहेकाले नेतृत्वमा शून्य देखिएको जनाइएको छ।पालिकाको अध्यक्ष पदमा महिला र दलित आउन नसके पनि अन्य पदाधिकारीमा भने उनीहरुलाई स्थान दिइएको एमाले जिल्ला सचिव तथा प्रदेशसभा सदस्य लिलाधर भट्टले जानकारी दिए। उनले भने,ुअध्यक्षमा महिला र दलितको सहभागिता शून्य देखिए पनि अन्य पदमा भने उत्साहजनक सहभागिता छ।ु

हालै सम्पन्न पालिका अधिवेशनबाट जिल्लाको दशरथचन्द, पाटन, पुर्चौडी र मैलौली नगरपालिकामा क्रमशःअजबहादुर पाण्डे,ललितसिंह ठगुन्ना,कर्णबहादुर धामी र राजबहादुर चन्द अध्यक्ष भएका छन्। यस्तै दोगडाकेदार,डिलाशैनी,पञ्चेश्वर,सुर्नया, शिवनाथ र सिगास गाउँपालिकामा क्रमशःकाशीसिंह विष्ट, रघुवीर बोहरा,प्रकाश चन्द,महेन्द्र चन्द,सुर्नया राजेन्द्र भट्ट र गोपाल धामी चयन भएका छन्।

यसैबीच जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट भने यही कात्तिक २७ गते गर्ने छ। प्रदेशसभाको अधिवेशन र जिल्ला अधिवेशन भने महाधिवेशनपछि हुने जनाइएको छ। एमालेको दशौँ महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ।



प्रतिक्रिया दिनुहोस्