Logo

मापसे गरी ज्यान लिने गरी कार दुर्घटना गराउने अनिश हमाल फरार, विहानै नक्कली चालक उभ्याइयो



नेपालगञ्ज, २२ कात्तिक । कोहलपुरको हवल्दारपुरमा गएराति ८ बजे एउटा कार हुइँकिएर आयो । पसलबाट घर फर्किइरहेका बिनोद अधिकारीलाई ठक्कर दियो । अधिकारीको निधन भयो । बागमती प्रदेश ०१-०२५ च ८८३९ नम्बरका कार धनी समेत रहेका चालक फरार भए ।

प्रहरीले रातभर कार चालकको खोजी गर्यो । घटनाबारे तत्काल अनुसन्धान थाल्यो । कार अनिश हमालको नाममा रहेको पत्ता लाग्यो ।

भोलिपल्ट विहानसम्म कार धनी सम्पर्कमा आएनन् । आफू कार चालक भन्दै एकजना युवक प्रहरीकोमा पुगे । प्रहरीले अनुसन्धानका क्रममा चालक उनी नभएको पत्ता लगायो । कार धनी हमाल भने अझै उपस्थित भएका छैनन् ।

प्रहरीले प्रारम्भिक अनुसन्धानबाट अनिश हमालले मादक पद्धार्थ सेवन गरी अनियन्त्रित तरिकाले कार चलाउँदा दुर्घटना भएको पत्ता लागेको छ । बाँके प्रहरीका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले कार अनिश हमालले नै चलाएको प्रारम्भिक अनुसनधानबाट देखिएको बताए । उनको खोजी भइरहेको जानकारी दिए । ‘अहिलेसम्मको अनुसन्धानबाट अनिश हमालले नै कार चलाएको देखिन्छ,’ डिएसपी न्यौपानेले भने । हमाल पक्राउ परेपछि घटनाबारे अझ खुल्छ ।

अनिशले चलाएको गाडी दुर्घटना भई बिनोद अधिकारीको मृत्यु नै भएपछि प्रहरी कहाँ आफू चालक भनी दाबी गर्ने व्यक्तिबारे पनि अनुसन्धान भइरहेको प्रवक्ता न्यौपानेले बताए । उनले भने,‘झूटो बोलेको हो भने चालक हुँ भन्नेमाथि पनि अनुसन्धान भई कारबाही बढ्छ ।’

दुर्घटना गराएका अनिशले मादक पद्धार्थ सेवन गरेको स्थानीयको भनाई रहेको प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बताए । उनले भने,‘स्वास्थ्य जाँच गर्न पाइएको छैन, कारधनी नै फरार भएकाले पक्राउ गरेपछि यथार्थ थाहा हुन्छ ।’

पछिल्लो समय दुर्घटना गराउने व्यक्तिले मादक पद्धार्थ सेवन गरेको भए फरार हुने र अर्को व्यक्ति उभ्याउने गतिविधि बढ्न थालेको छ । लाइसेन्स नभएको र मादक पद्धार्थ सेवन गरी सवारी साधन चलाएर व्यक्तिको ज्यान जानेगरी दुर्घटना गराएमा ज्यान मारेको अभियोगमा मुद्दा दायर गरिन्छ । त्यसकारण पनि चालक नै फेर्ने गतिविधि बढ्न थालेको छ ।



प्रतिक्रिया दिनुहोस्