Logo

साँस्कृतिक कूूटनीतिमा राजदूत



काठमाडौं, कात्तिक २३ । फरक देश, धर्म र संस्कार भए पनि नेपालमा रहेका विदेशी राजदूत तथा कूटनीतिक व्यक्तित्वले यहाँका प्रमुख चाडपर्वमा आफैँ रमेर अनुभव सँगाल्ने गरेका छन् । पछिल्लो समय विशेषतः दशैँ, तिहारजस्ता नेपालीका महत्त्वपूर्ण चाडमा नेपालस्थित विभिन्न देशका राजदूतले विविध कार्य गरेर नेपालीको ध्यानाकर्षण गर्ने प्रयास गर्दै आएका छन् ।

चाडकै अवसर पारेर कपितय राजदूतले नेपाली भाकाको गीत गाउँदै शुभकामना दिने त कतिपयले नेपाली सङ्गीतमा नृत्यसहितको सन्देश पस्कँदै आएको पाइएको छ ।

घरपरिवारबाट टाढा विदेशी भूमिमा रहँदा त्यहाँको सामाजिक संस्कार, संस्कृति तथा धर्मसँग जोडिएका चाडपर्वसँग साक्षात्कार गर्न उनीहरूले भुलेका छैनन् । असोज र कात्तिक महिनामा पर्ने नेपालको मुख्य पर्व वडादशैँ र तिहारको अवसरमा नेपाली नागरिक र सरकारलाई शुभकामना दिनेमात्र हैन, नेपाली कला, संस्कार र संस्कृतिमा साथै रमाउने भूमिका पनि कूटनीतिक व्यक्तित्वले गरे।

नेपालस्थित अमेरिकी राजदूत ¥यान्डी बेरी पछिल्लो समय सबैभन्दा बढी नेपाली समाज र संस्कृतिसँग नजिक रहन मन पराउन्छन् । उनले सामाजिक सञ्जालमार्फत व्यक्त गरेका अभिव्यक्ति र गतिविधिका तस्बिरले पनि त्यो झल्काउँछ । दशैँमा आफ्ना परिवारसँगै बसेर निधारमा रातो टीका लगाउन उनी चुकेनन् । उनको आफ्नो देशको धर्म र संस्कार फरक छ । तर, नेपालको धर्म संस्कारको मान्यतालाई निकै सम्मान दिदै आएका छन्। त्यतिमात्र हैन, तिहारको भाइटीका होस् वा लक्ष्मीपूजाको दीपावली त्यसमा पनि उनी र उनको परिवार नेपाली परिवारले जस्तै उमङ्गमा रम्ने गरेका छन्। दीपावलीमा दियो बाल्दै गरेको उनको तस्बिरले नेपाली संस्कृतिप्रति सम्मान झल्कन्छ ।

यसैगरी, युरोपियन युनियनका नेपालस्थित राजदूत नोना डेप्रेजले पनि लक्ष्मीपूजाको दिन आफ्नो निवासस्थलमा रङ्गोली बनाएर दियो बालेका छन् । ढोकाभरि सयपत्री फूलका मालाले सिँगारिएको उनको निवास निकै सुन्दर देखिन्थ्यो । दियो बालेपछि भिडियो सन्देशमार्फत उनले तिहारका लागि शुभकामना पनि दिएका थिए। नेपालस्थित बेलायती राजदूत निकोला पोलिटले पनि नेपाली संस्कारको तिहारको भिलिमिलीलाई आफ्नो कर्तव्यसँगै रमाउने पाटोका रूपमा प्रस्तुत गरे ।
नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी पनि आफ्नो र नेपाली मुलुकको चाडपर्वप्रति उत्तिकै चासो राख्ने कूटनीतिक व्यक्तिका रूपमा चिनिन्छिन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्