Logo

काँग्रेस महाधिवेशनमा देउवा-पौडेल मिलेर जानसक्ने



काठमाडौं, २३ कात्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मंसिरमा तय भएको महाधिवेशन नसर्ने स्पष्ट पारिसकेका छन् । उनले पहिलोपटक महाधिवेशन तोकिएको मितिमै हुने बताएबाट अब भने नसर्ने सम्भावना बढेको छ ।

काँग्रेस महाधिवेशन नजिकिदै गर्दा पार्टीभित्र नयाँ समिकरणहरु बन्न थालेका छन् । सभापतिका मुख्य दाबेदार देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलका अलावा उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, सुजाता कोइरालालगायतका नेताहरुको नयाँ समिकरण बन्ने संकेत देखिएको हो ।

देउवाको समूहबाट निधिले साथ छाडेपछि उनले इतर समूहका नेताहरुलाई पक्षमा पार्ने प्रयास गरिरहेका छन् । महामन्त्री सशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई साथमा ल्याउने देउवाको प्रयास देखिइसकेको छ । उनले यी नेताहरुसँग छुट्टाछुट्ट भेटेर प्रस्ताव पनि गरिसकेका छन् ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहले कुनै हालतमा देउवासँग नमिल्ने अडान देखाइसकेका छन् । उनी सभापतिको उम्मेदवारीबाट पछि नहट्ने अडानमा छन् । देउवा र पौडेलबाट पार्टी नचल्ने बताइसकेका छन् ।

महामन्त्री सशांक कोइराला देउवासँग मिलेर जाने सम्भावना औल्याइएको छ । तर, कोइरालाले साथ दिनेमा देउवा विश्वस्त छैनन् ।

केन्द्रीय सदस्य डा. शेखर कोइराला देउवाविरुद्ध सभापति लड्ने तयारी गर्दै आएका छन् । उनी देउवासँग हातेमालो गर्ने पक्षमा देखिदैनन् । सुजाता कोइराला देउवाप्रति लचिलो देखिएपनि उनले शेखर कोइरालाको साथ छाड्ने सम्भावना कमजोर छ ।

देउवाले निधिको साथ गुमाइसकेको र इतर समूहबाट पनि सभापतिको धेरै आकांक्षी रहेकाले भरपर्दो नेताको साथ खोजेको बुझिएको छ । उनले वरिष्ठ नेता पौडेललाई फकाउन सुरु गरेका छन् ।

पौडेललाई भविष्यमा महत्वपूर्ण पद दिने प्रस्ताव लगेर देउवाले साथ लिन खोजेको बुझिएको छ । उनले सरकार संचालनका लागि गठित समितिमा पौडेललाई संयोजक बनाइसकेका छन् । यो कदम अर्थपूर्ण मानिएको छ । काँग्रेसभित्र देउवा पक्षधरले भविष्यमा पौडेललाई राष्ट्रपति बनाउने प्रतिवद्धता गरेर पक्षमा पार्नुपर्नेमा जोड दिन थालेका छन् । पौडेललाई कार्यवाहक सभापति दिने गरी मनाउनेबारे पनि प्रयास भइरहेको बुझिएको छ ।

देउवाले पौडेललाई फकाइरहँदा काँग्रेसको राजनीतिमा नयाँ घटनाक्रम विकास भएको छ । पौडेलले कोइराला परिवार र सिंहको पनि साथ नपाउने भइसकेका छन् ।

यसबाट उनी राजनीतिक भविष्य सुरक्षित गर्न पनि देउवासँग नजिकिदै गएका छन् । देउवा र पौडेल मिलेमा काँग्रेसभित्र संस्थापन पक्ष विरोधी बलियो नेता को हुने हो चासो बनेको छ । अहिले देउवाको मुख्य प्रतिद्वन्द्वी बन्न कोइराला परिवारका तीन नेता र प्रकाशमान सिंहबीच प्रतिष्पर्धा चलिरहेको छ । दुवै कार्यकर्ताहरुलाई पक्षमा पार्न दौडधूप गर्न थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot