Logo

नौतले दरबारको व्यवस्थापनका लागि चीनको प्रस्ताव



काठमाडौं, कार्तिक २४ । हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार पुनर्निर्माण गरिरहेको चीन सरकारले दरबारभित्रको सुरक्षा प्रविधिसहित सबै इन्टेरियरको काम गर्न प्रस्ताव अघि सारेको छ ।

चीनले २०७२ साल वैशाख १२ को शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त नौतले दरबार र दरबारसँगै जोडिएको वसन्तपुरसहित तीनवटा बुर्जाहरू ललितपुर टावर, भक्तपुर टावर र कीर्तिपुर टावरको पुनर्निर्माणको जिम्मा लिएको थियो ।

पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेसँगै चीन सरकारले दरबारभित्र अत्याधुनिक सुरक्षा प्रविधिसहित राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्र संग्रहालयको सबै सामग्री व्यवस्थापन गर्न प्रस्ताव अघि बढाएको हो ।

पुनर्निर्माणको ठेक्का पाएका चिनियाँ कम्पनी एजेन्सी फर इन्टरनेसनल इकोनोमिक कोअपरेसनले पुरातत्व विभागमा चीन सरकारको तर्फबाट संग्रहालयमा सामग्री व्यवस्थापन गर्न सोकेस निर्माण, लाइटिङ र सुरक्षा प्रविधि यन्त्र जडान गर्ने प्रस्ताव पेस गरेको विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिए । उनका अनुसार विभागले विस्तृत योजनासहित पूर्ण प्रस्ताव पेस गर्न कम्पनीलाई आग्रह गरेको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्